Rumpum Advertisement

बलात्कारको दोषीका लागि कडा कानून ल्याउँदै पाकिस्तान

Neuro
बलात्कारको दोषीका लागि कडा कानून ल्याउँदै पाकिस्तान

विराटनगर । पाकिस्तानले बलात्कारको दोषीलाई नपुङ्सक बनाउने कडा कानून ल्याउने भएको छ । पाकिस्तानमा ल्याउन लागिएको नयाँ कानूनले बलात्कारसम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरिसकेका छन् । यस अध्यादेशअन्तर्गत यौन अपराधमा सङ्लग्न व्यक्तिको राष्ट्रिय दर्ता तयार गरी पीडितको पहिचान गोप्य राख्ने निर्णय गरिएको छ ।

साथै, नयाँ कानूनमा दोषी प्रमाणित भए रसायनको प्रयोग गरेर उक्त दोषीलाई नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ । यी मुद्दाको सुनुवाईका लागि विशेष फास्ट ट्र्याक अदालत गठन गरिनेछ र यी अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउनसक्ने छन् ।

लाहौर शहर बाहिर एक महिलामाथि सामूहिक बलात्कार भएपछि बनेको अवस्थाका कारण देशमा यो नयाँ प्रकारको यौन कानून ल्याइने भएको हो । आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामूहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो ।

उक्त घटनाकी पीडित महिला आफ्नो दुई सन्तानका अगाडि बलात्कृत भएकी थिइन् । पीडित महिला पनि घटनाका लागि केही हदसम्म दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दोस्रो दिन दिएका थिए ।

बयानपछि पाकिस्तानभर भएको विरोध प्रदर्शनले कडा सजायको प्रावधानसहित कानून ल्याउनुपर्ने माग उठेको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएका थिए ।

तर, नयाँ कानूनको आलोचना सुरु भएको छ । आलोचकहरूले कानुन अत्यन्तै कडा भएको र यो तयार पार्दा सरकारी अधिकारीहरूले पर्याप्त विचार–विमर्श नगरेको भन्दै आलोचना गरेका हुन् ।

त्यसैले यस कानुनलाई अबको १ सय २० दिनभित्र संसद्बाट पास गर्नुपर्ने र त्यसपछि मात्र कानुन कार्यन्वयनमा आउने बताइएको छ । बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन ।

विश्वका केही देशहरूमा, केमिकल क्यास्ट्रेशन अर्थात् औषधि दिएर नपुङ्सक बनाउने प्रावधान छ । विश्वमा इन्डोनेशिया, पोल्यान्डलगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन् ।

पोल्यान्डले सन् २००९ मा यो कानुन बनाएको भने इन्डोनेशियाले सन् २०१६ मा बनाएको हो । पोल्यान्डमा बालबालिका बलात्कार गर्ने व्यस्क मानिसलाई यो सजाय अनिवार्य गरिएको छ ।