Rumpum Advertisement

मृगौलाको रोगबाट बच्न नियमित जाँच आवश्यक

मृगौलाको रोगबाट बच्न नियमित जाँच आवश्यक

विराटनगर/अधिकांश मानिसले पत्थरीलाई मात्र मृगौलामा हुने समस्याको रुपमा लिने गरेको पाइन्छ ।

तर, अस्थायी रूपमा हुने मृगौला ड्यामेज (टेम्पोररी किड्नी ड्यामेज) र स्थायी रूपमा तथा दीर्घ रुपमा मृगौला बिग्रने अवस्था (पर्मानेन्ट किड्नी ड्यामेज) गरी मृगौलामा लाग्ने रोगलाई दुई भागमा विभाजन गरिन्छ । मधुमेह, उच्चरक्तचाप, लगातार यस्ता दुखाइ कम गर्ने औषधिको सेवन, पत्थरी तथा पत्थरीका कारण पिसाबमा हुने अवरोधले मृगौलामा समस्या हुनसक्छ ।

शरीरमा पानी तथा तरल पदार्थको मात्रा कम भएमा, झाडावान्ता भएका, पानी नपिएको खण्डमा, रगतको मात्रा कम भएमा, दुर्घटना वा डेलिभरीको समयमा अत्यधिक रगत बगेमा तथा कुनै पनि कारणले शरीरको तरल पदार्थमा कमी आएमा मृगौलामा समस्या हुने गर्छ । माथि उल्लेखित जोखिम कारकहरूले एकै पटकमा मृगौला फेल गराउने भन्ने हुँदैन ।

नेफ्रोलोजिस्ट र रेनल ट्रान्सप्लान्ट फिजिसियन डा. शैलेन्द्र श्रेष्ठका अनुसार मृगौला एकैपल्ट काम गर्न छाडेर पर्मानेन्ट किड्नी फेल हुनुभन्दा पनि यो प्रक्रिया बिस्तारै–बिस्तारै हुन्छ । जसकारण सुरुमा यस समस्याको कुनै पनि लक्षण देखिँदैन । त्यसैले समय–समयमा नियमित मृगौलाको जाँच गराउनु आवश्यक हुन्छ । एक स्वास्थ्य मानिसले कम्तिका वर्षको एकपटक भए पनि जाँच गराउनु पर्छ ।

मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूले औषधि खाएर नियन्त्रणमा राखिरहेका छौँ भनेर ढुक्क भएर बस्न नहुने उनको भनाइ छ । मधुमेह, उच्चरक्त चाप, पत्थरी तथा औषधिको सेवन गरिरहेका व्यक्तिहरूले भने हरेक ६–६ महिनामा नियमित पिसाब, पिसाबमा प्रोटिनको मात्रा र रगतमा युरिया क्रिएटिनलगायत मृगौलाको जाँच गराउनु जरुरी हुन्छ ।

भित्रैभित्र कुनै कारणविना पनि मृगौलामा समस्या भइरहे पनि रोगलाई समयमा पहिचान गर्न सकिन्छ । समयमा रोग पहिचान गर्न सके उपचार गराउन सहज हुने तथा अन्य सावधानीहरू समेत अपनाउन सकिन्छ । पर्मानेन्ट ड्यामेज भएको अवस्थामा समेत समयमै पहिचान गर्न सके मृगौला फेल हुनबाट बचाउन सकिन्छ । तर, सबैभन्दा पहिले रोग लाग्नै नदिनु नै महत्वपूर्ण हुन्छ ।

रोग लाग्न नदिन नियामित जाँचका साथै, सुगर तथा रक्तचापलाई नियन्त्रणमा राख्ने, आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोग नगर्ने, धुम्रपान र मदिराको सेवन नगर्ने, खानामा नुनको मात्रा घटाउने, प्रशस्त पानी पिउने, नियमित व्यायाम गर्ने, प्रोटिनको मात्रा ठिक्क हुने गरी खानपानमा बिशेष ध्यान दिन जरुरी हुन्छ ।