Rumpum Advertisement

राष्ट्रिय झण्डा दिवस मनाइयो

राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौँ/आज पुस १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारासहित दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।