Rumpum Advertisement

मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित, आपतकालीन प्रयोगका लागि खुल्यो बाटो

Neuro
मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित, आपतकालीन प्रयोगका लागि खुल्यो बाटो

विराटनगर/मोडर्नाले विकास गरेको खोप सुरक्षित र ९४ प्रतिशत प्रभावकारी देखिएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको देखिन्छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मोडर्नाको खोप सुरक्षित र प्रभावकारी भएको जनाएपछि अमेरिकामा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको हो ।

सोमबारदेखि मात्र अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउने अभियान सुरु गरिएको थियो । एफडीए वैज्ञानिकहरूले मोडर्ना खोपको समर्थनलाई मङ्गलबार घोषणा गरेका थिए । जसको दुई दिनअघि मात्र खोप प्यानेलले फाइजरको खोपलाई आपतकालीन स्वीकृति दिने बारेमा छलफल गरेका थिए ।

अमेरिकी अधिकारीले सप्ताह अन्त्यसम्ममा मोडर्नाको खोपलाई आपतकालीन प्रयोगका अनुमति दिएमा २४ घण्टाभित्र खोप वितरण भइसक्ने बताइएको छ । एफडीएले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३० हजार व्यक्तिको परीक्षणमा खोप ९४ दशमलब १ प्रभावकारिता देखिएको थियो । खोप लगाएकामा ज्वरो, टाउको दुख्ने, मांसपेशी तथा जोर्नीको दुखाइ सबैभन्दा सामान्य साइड इफेक्ट देखिएका हुन् ।

फाइजरको खोपजस्तै, मोडर्नाको खोप पनि दुई पटक लगाउन आवश्यक छ । मोडर्नाको दोस्रो खोप पहिलो लगाएको २८ दिनपछि लगाउनु पर्ने हुन्छ । मोडर्ना खोपलाई –२० डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्ने हुन्छ । अमेरिकाले मोडर्नाको २० करोड डोज पहिले नै अर्डर गरिसकेको छ । खोप स्वीकृत भएमा मोडर्नाको दुई करोड डोज डिसेम्बरको अन्त्यसम्म डेलिभर हुने बताइएको छ ।