Rumpum Advertisement

करले होइन रहरले वृद्धाश्रममा पत्रकार ‘पाखे’

करले होइन रहरले वृद्धाश्रममा पत्रकार ‘पाखे’

मोहन ढकाल

विराटनगर/अग्रज पत्रकार रमेश भट्टराई ‘पाखे’को भक्तपुर सूर्यविनायकमा आफ्नै घर छ । घरमा परिवारका सदस्य पनि छन् । घर–परिवारले आफैँसँग बस्न बोलाउँछन् पनि । तर उनी घर जान मन गर्दैनन् ।

‘घर–परिवारलाई दुःख नदिने,’ भन्दै उनी जीवनको उत्तरार्धमा विराटनगरको मलाया रोडस्थित विराटेश्वर वृद्धाश्रममा रमाएका छन् । त्यहाँको वातावरण आत्मीय र साथमा आफ्नै उमेरका साथीहरू हुँदा त्यहाँ उनी खुसी र समय कटाउन सहज भएको उनको मुहारमा प्रष्ट झल्किन्छ ।

‘बुढेसकालमा परिवारमा दुःख दिन मन लागेन,’ ८० वर्षीय पाखेले भने, ‘यो पनि आफ्नै घर हो । आखिर जहाँ बसे पनि खुसीसाथ बाँच्नु त हो !’

पत्रकार पाखेले वृद्धाश्रममा बालापनका जस्तै मन मिल्ने बुढेसकालका साथी–सङ्गती पाएका छन् । त्यसैमा उनलाई रमाइलो लाग्छ । गर्व लाग्छ । ‘म वृद्धाश्रममा बाध्यताले होइन, रहरले बसेको हुँ,’ उनले भने, ‘शारीरिक रूपमा कमजोर भए पनि मुस्कान र आत्मबल भने कमजोर भएको छैन ।’

नारायणप्रसाद भट्टराई र कमलादेवीका जेठो छोरा रमेश भट्टराईको जन्म भारतको बनारसमा भयो । बाल्यकाल पनि बनारसमै बित्यो । विवाह पनि उतै भयो । उनका एक दिदी, दुई बहिनी र दुई भाइ छन् ।

‘लेख्न मन लाग्छ तर शरीरले साथ दिँदैन । पुराना कुरा सम्झिँदा रमाइलो लाग्छ । तर कतिपय सम्झिनैपर्ने कुरा बिर्सिसकेँ ।’

भट्टराईको बालविवाह भएको हो । पहिला सानै उमेरमा विवाह गरिदिने चलन थियो । उनको १२ वर्षमै विवाह भएको थियो । ‘सानै उमेरमा विवाह भयो, विवाह भएको एक वर्ष नपुग्दै अर्कैसँग माया बस्यो,’ उनले ठट्यौली शैलीमा भने, ‘तिनले तिम्रो बिहे भए पनि केही फरक पर्दैन, म पनि तिमीसँगै आउँछु भनिन् । लु हो त त्यसो भा भनेर मैले पनि आँट गरेँ । घरमै बोलाएँ ।’

पाखेका अनुसार दुनियाँले नजरमा सौता–सौता देखिए पनि उनका दुई पत्नीबीच आपसमा सौतेलो व्यवहार कहिले भएन । दिदी–बहिनीजस्तै मिलेर बसे ।

उनीहरूका पाँच सन्तान छन् ।

अङ्ग्रेजी भाषामा स्नातक गरेका पत्रकार पाखेले हिन्दी भाषामा एमए गरेका छन् । उनी नेपालीबाहेक अङ्ग्रेजी, हिन्दी, मैथिली, भोजपुरी, बङ्गाली आदि भाषामा दखल राख्छन् ।

उनको पारिवारिक वातावरण नै पत्रकारितासँग जोडिएको थियो । बुबा नारायणप्रसाद भट्टराई र काकाहरू पत्रकारिता क्षेत्रमा थिए, जसका कारण उनलाई पनि पत्रकारिता क्षेत्रमा आउन मन लाग्यो ।

तत्कालीन जहानिया राणा–शासनको विरोध गर्न बुबा नारायणप्रसादसँगै उनका काकाहरू मिलेर २००४ सालमा ‘युगवाणी’ मासिक पत्रिका प्रकाशन आरम्भ गरेका थिए । त्यो बेला नेपालमा न सर्वसुलभ छापाखाना थियो, न नेपालमा बसेर पत्रकारिताको काम गर्न पाइन्थ्यो ।

बनारसबाट प्रकाशन हुँदै आएको ‘युगवाणी’ पत्रिकाको सम्पादक उनकै बुबा थिए । बनारसबाटै मासिक रूपमा नै प्रकाशन हुने साहित्यिक पत्रिका ‘दीपक’को सम्पादक पनि उनकै बुबा थिए ।

रमेश सानैबाट बुबालाई साहित्यिक पत्रिकाको काममा सघाउँथे । पत्रिकामा छापिने कविताहरू मिलाउन बुबालाई सहयोग गर्दागर्दै पत्रकारिता तथा साहित्यमा अगाडि बढ्न सहज भएको उनले सुनाए ।

‘युगवाणी’ मासिक २००९ सालबाट छापिन छोड्यो । अलिपछि पाखे विराटनगर आए । विराटनगर आएपछि उनले ‘युगवाणी’ मासिकलाई साहित्यिक पत्रिकाको पुनः प्रकाशन आरम्भ गरे । यसलाई उनले लामो समयसम्म निरन्तरता दिए ।

पत्रकार ‘पाखे’ सानैदेखि साहित्य क्षेत्रमा सक्रिय थिए । २००९ सालमा बनारसबाटै उनको पहिलो कविता–सङ्ग्रह ‘नवीन’ प्रकाशन भएको थियो । उनले जय पाण्डेसँग मिलेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रकाशित कृति सम्पादन गर्ने अवसर पनि पाएका थिए ।

पत्रकारिता कर्मको सिलसिलामा हङकङ, सिङ्गापुर, थाइल्यान्डलगायत देशबाहिरका ठाउँ घुम्ने मौका पाएको उनले स्मरण गरे । पछिल्लो समय उनले गोरखापत्र, राष्ट्रिय समाचार समितिआबद्ध रहेर समेत पत्रकारिता कर्मलाई निरन्तरता दिएका थिए । पत्रकारिता क्षेत्रका अग्रजहरू प्रायःले उनलाई चिन्छन् र यो क्षेत्रमा उनले गरेको योगदानको सम्झना सम्मानसाथ गर्छन् ।

उनले सक्रिय पत्रकारिताबाट विश्राम लिएको ११ वर्ष भयो । शारीरिक रूपमा अशक्त भएपछि उनको पूर्व–स्मृति र लेखन कार्य हराउँदै गएको छ । ‘लेख्न मन लाग्छ तर शरीरले साथ दिँदैन,’ उनले भने, ‘पुराना कुरा सम्झिँदा रमाइलो लाग्छ । तर कतिपय सम्झिनैपर्ने कुरा बिर्सिसकेँ ।’