Rumpum Advertisement

यी हुन् निर्माण रोकिएका केही फिल्महरु

Neuro
यी हुन् निर्माण रोकिएका केही फिल्महरु

विराटनगर/

काठमाडौँ नाइटस :

केही वर्षअघि अभिनेता आर्यन सिग्देलको ‘हाइहाइ’ थियो । तर, हिरो भएका फिल्म धमाधम फ्लप भएपछि उनको माग घट्दो छ । केही वर्ष पहिले जब आर्यनको माग ज्यादा थियो, त्यसबेला फिल्म चपली हाइटका निर्देशक दीपेन्द्र के.खनालले आर्यनलाई महँगो दाम तिरेर साइन गराए । उनी त्यतिखेर ‘काठमाडौँ नाइट्स’ भन्ने फिल्म बनाउने योजनामा थिए । यो कुरा लगभग पाँच–छ वर्षअगाडिको हो ।

समय बित्दै गयो, काठमाडौँमा धेरै ‘नाइट्स’ सकिए तर ‘काठमाडौँ नाइट्स’ भने बनेन । निर्देशक खनालले अन्य थुप्रै फिल्म बनाए तर काठमाडौँ नाइट्सको अत्तोपत्तो थिएन । स्रोतका अनुसार निर्देशक खनालले आर्यनसँग त्यतिबेला ‘साइनिङ एमाउन्ट’ भनेर दिएको केही रकम फिर्ता पनि मागेका थिए ।

तिमी मेरी बन्नु ल :

हिट सिरिज ‘नाइ नभन्नु ल’ का निर्देशक तथा लेखक हुन् विकासराज आचार्य । सन् २०१० मा आएको सुपरहिट फिल्म ‘नाइ नभन्नु ल’ मा अभिनेता जीवन लुइँटेल र अभिनेत्री रिचा सिंह ठकुरीको जोडी धेरै रुचाइएको थियो । त्यही कारण पनि निर्देशक आचार्यले सन २०११ मा आएको फिल्म ‘म तिम्री भइसकेँ’ मा जीवन र रिचालाई अनुबन्ध गरेका थिए ।

फिल्म रिलिज पहिले नै फिल्मका गीतहरुले बजार तताएको थियो । फिल्म हिट हुने पक्का थियो । फिल्म हलमा रिलिज भयो, दर्शकले एकदमै रुचाए फिल्मलाई । अब दर्शकको ध्यान मात्र केन्द्रित गर्न हो वा के सोचेर हो फिल्म ‘म तिम्रो भइसकेँ’को निर्माण टिमले फिल्म समाप्त भएपछि ‘अर्को भेटमा, तिमी मेरी बन्नु ल’ भनेर घोषणा गरिदिए ।

तर आज १० वर्ष बित्न लाग्दा पनि फिल्मको अत्तोपत्तो छैन । यता नाइ न भन्नु ल सिरिजको छैटौँ भाग निर्माण हुन लागिसक्यो तर फिल्म ‘तिमी मेरी बन्नु ल’ बन्ने केही खबर छैन ।

दीपेन्द्र सरकार :

फिल्म ‘प्रेम गीत २’ रिलिजको तयारीमा रहेको बेला निर्माता सन्तोष सेनले निकै उत्साहका साथ नयाँ फिल्म दीपेन्द्र सरकारको घोषणा गरेका थिए । दरबार हत्याकाण्डको बारेमा धेरै पुस्तक लेखिए पनि यसको वास्तविकता अझै अन्यौलमा छ । रहस्यमै रहेको दरबार हत्याकाण्डको बारेमा विवेककुमार शाहद्वारा लेखिएको ‘मैले देखेको दरबार’ लाई फिल्ममा उतार्न लागिएको थियो । साथै फिल्म प्रदर्शनको मिति पनि तोकिएको थियो । फिल्मको घोषणा कार्यक्रममा प्रदीपलाई दीपेन्द्रको जस्तै पोशाकमा उपस्थित गराइएको थियो । तर, फिल्म घोषणा भएको यतिका समय बित्दा पनि न फिल्म बन्यो न त केही खबर नै छ ।

दीपेन्द्र सरकार घोषणापछि प्रदीपको ‘प्रेम गीत २’, ‘लिलिबिली, ‘रोज’ र लभ स्टेसन रिलिज भइसकेका छन् । निर्माता सेनले पनि नयाँ फिल्म ‘मेरी मामु’ निर्माण गरेर रिलिज गरिसकेका छन् । तर, फिल्म दीपेन्द्र सरकार निर्माणसम्बन्धी केही जानकारी छैन । अहिले निर्माता सेन ‘प्रेम गीत ३’ निर्माणमा लागिरहेका छन् । ‘प्रेम गीत ३’ गत वर्ष चैतमै रिलिज हुनुपर्ने फिल्म हो तर कोरोना महामारीबीच फिल्म रिलिज हुन पाएन तसर्थ प्रेम गीत ३ यही वर्ष रिलिजको तयारीमा रहेको छ ।

‘कहाँ छौ कहाँ’ :

२०७२ साल वैशाख महिनाको कुरा हो, जब निर्माता तथा वितरक गोविन्द शाहीले चलचित्र ‘कहाँ छौ कहाँ’को सिक्वेल बनाउने घोषणा गरे । चलचित्रको कथावस्तु तयार हुँदै गर्दाखेरी नै निर्माता शाहीले फिल्मको प्रदर्शन मिति घोषणा गरिदिएका थिए ।

आज पाँच वर्ष बित्दा पनि न फिल्मको सिक्वेल बन्यो, न त फिल्मको सिक्वेल बन्ने कुरा नै चल्यो । निर्माता शाहीले पछिल्लो सम्य लभ ड्रामा फिल्म ‘लभ स्टेसन’ निर्माण गरेका थिए । गोविन्द शाही, विराज भट्ट र झरना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘कहाँ छौ कहाँ’ सुपरहिट भएको थियो ।