Rumpum Advertisement

प्रदेश १ मा अपराधसँग सम्बन्धित दुई हजार एक सय सात मुद्दा

प्रदेश १ मा अपराधसँग सम्बन्धित दुई हजार एक सय सात मुद्दा

विराटनगर । प्रदेश १ मा चालु आर्थिक वर्षको चार महिनाभित्रमा विभिन्न आपराधिक घटनासँग सम्बन्धित दुई हजार एक सय सातवटा मुद्दा प्रहरीले दर्ता गराएको छ ।

प्रदेशका १४ वटै जिल्लासँग सम्बन्धित मुद्दाको यो सङ्ख्या साउनदेखि कात्तिकसम्मको हो । कर्तव्य ज्यान, लागुऔषध, मानव बेचबिखन, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरीलगायत विभिन्न शीर्षकमा प्रहरीले मुद्दा दर्ता गराएको छ । अपराधिक घटनाको अनुसन्धान सकेर प्रहरीले अभियुक्तसहित मिसिल बुझाएपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ ।

प्रहरीमार्फत दर्ता गराइएकामध्ये हालसम्म सात सय ४० वटा मुद्दाको अदालतबाट अन्तिम किनारा लागिसकेको छ । अनुसन्धानकै क्रममा रहेका एक हजार तीन सय ६७ वटा मुद्दाको छिनोफानो हुन बाँकी छ ।

अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरी महानिरीक्षक, प्रदेश १ प्रहरी प्रमुख र १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच यसअघि नै कार्य सम्पादन सम्झौता भएको थियो । सम्झौताको अक्षरस पालना र प्रभावकारी कार्यान्वयन हुँदा अपराधिक घटनामा संलग्नको पहिचान, पक्राउ र कारबाही चाँडो गरेर अघि बढाउन सजिलो भएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

‘प्रहरीको कार्य सम्पादन प्रभावकारी भएकाले अपराधिक घटना नियन्त्रण र अनुसन्धानमा सफलता मिल्दा दुई हजार एक सय सातवटा अपराधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न कारबाहीमार्फत ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।’ डीआईजी कार्कीका अनुसार प्रदेशमा पछिल्लो समय अपराध नियन्त्रण एवम् अनुसन्धान, भन्सार चोरी तस्करी, नदीजन्य पदार्थ एवं प्राकृति सम्पदाको दोहन, वन्यजन्तु एवम् काठ चोरी निकासी नियन्त्रण र ट्राफिक व्यवस्थापनको काममा प्रहरीलाई सफलता मिलिरहेको छ ।

त्यस्तै विभिन्न अपराधमा अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवानाको फैसला सुनाए पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न तथा फैसला कार्यान्वयनमा पनि प्रहरीले सफलता प्राप्त गरिरहेको उनको भनाइ छ । कार्कीका अनुसार चार महिनाको अवधिमा विभिन्न अपराधमा कैद वा जरिवानाको फैसला भए पनि फरार रहेकामध्ये एक सय ९३ फरार प्रतिवादी पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्दा तीन सय वर्ष कैद र एक करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ जरिवाना असुल भएको जानकारी उनले दिए । दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान गर्न कारागार पठाउने गरेको छ । जरिवाना गरिएकासँग असुल गर्ने गरेको छ ।

त्यस्तै भन्सार छली गरेर सामानको अवैध चोरी निकासी गर्ने ३८ जना यो अवधिमा पक्राउ परेका छन् । प्रहरीले तस्करी नियन्त्रण विशेष अभियानअन्तर्गत अवैध आयात-निर्यातमा संलग्नलाई पक्राउ गरेर उनीहरुसहित बरामद भएका तस्करीका सामान भन्सार बुझाउने गरेको छ । तस्करी नियन्त्रण अभियानमार्फत पाँच करोड ५५ लाख ५३ हजार एक सय ९० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएर प्रहरीले कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको डिआइजी कार्कीले बताए ।

यसैबीच नदीजन्य पदार्थ वा प्राकृति स्रोतको दोहनमा संलग्न ९६ जना चार महिनाको अवधिमा पक्राउ परेको जानकारी उनले दिए । नदीजन्य पदार्थ उत्खनन्, तस्करी र ओसारपसारमा प्रयोग गरिएको चार सय ८९ वटा साधनलाई नियन्त्रणमा लिनुका साथै यसमा संलग्न ९६ जनालाई पक्राउ गरिएको उनको भनाइ छ । कार्कीले पक्राउ परेका मानिस र साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउँदा ३१ लाख पाँच हजार छ सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको जनाए ।

प्रदेश १ मा अवैध रूपमा काठ चोरी निकासी गर्ने ३३ जना पक्राउ परेका छन् । एक हजार दुई सय ८४ क्यूफिट काठ पनि बरामद भएको डिआइजी कार्कीको भनाइ छ । काठ तस्करीमा संलग्नविरुद्ध वन ऐनअन्तर्गतको मुद्दा चलाउने गरिएको छ । काठ बरामद गरेर बुझाउँदा १४ लाख नौ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै प्रदेशमा चार महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७१ हजार नौ सय ६९ वटा सवारी साधन कारबाहीमा परेका छन् । नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दा चार करोड ४३ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको डिआइजी कार्कीले बताए । उनका अनुसार विभिन्न कारबाहीबाट जम्मा ११ करोड ५५ लाख ६८ सात सय ९९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।