birat ribon

डोनाल्ड ट्रम्पका समर्थकले बाइडेनलाई दिन थाले बधाई

Neuro
डोनाल्ड ट्रम्पका समर्थकले बाइडेनलाई दिन थाले बधाई

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रिपब्लिकन पार्टीका शीर्ष नेताले राष्ट्रपतिमा निर्वाचिन जो बाइडेनलाई बधाई दिन थालेका छन् ।

निर्वाचन सम्पन्न भएको डेढ महिनापछि बाइडेनको जितलाई स्वीकार गर्दै उनीहरुले बधाई दिन थालेका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार बाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए । तर बिना प्रमाण निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले भने हार स्वीकार गर्न मानिरहेका छैनन् ।

cura insider

बिना प्रमाण निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले दायर गरेका रिट त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएपछि र बाइडेनको जितलाई इलेक्टोरल कलेजका सदस्यहरुले प्रमाणिकरण गरेसँगै ट्रम्पका समर्थकले पनि बाइडेनको जितलाई स्वीकार गरेका हुन् । तर ट्रम्पले भने आफूबाट नतिजा खोसिएको बताउँदै अझैसम्म पराजय स्वीकार गरिसकेका छैनन् ।

रिपब्लिकनका अधिकांश शीर्ष नेताले ट्रम्पको समर्थन गरेका थिए । उनीहरुले ट्रम्पबाट निर्वाचनको नतिजा खोसिएको बताउँदै आएका थिए । तर अहिले भने बाइडेनलाई बधाई दिन थालेका छन् । माथिल्लो सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई ‘प्रेसिडेन्ट–इलेक्ट’ अर्थात निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गरेका हुन् ।

बाइडेनको जितलाई इलेक्टोरल कलेजका सदस्यहरुले प्रमाणिकरण गरेसँगै शीर्ष रिपब्लिकन नेताहरुले मौनता तोड्न थालेका हुन् । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएर जित हाँसिल गरेका हुन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

इलेक्टोरल कलेजले बाइडेनका जितलाई औपचारिकता प्रदान गरेपछि सिनेट लिडर मिचले सम्बोधन गरेका हुन् । हाल रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडेनको कार्यकालका लागि निकै महत्वपूर्ण रहने विभिन्न सञ्चार माध्यमले जनाएका छन् । आउँदो जनवरी ५ मा जर्जियामा दुई सिनेट सिटका लागि हुने रनअफ चुनावले माथिल्लो सदन सिनेटको शक्ति सन्तुलन निर्धारित गर्छ ।

सिनेट लिडर मिचले बाइडेनसँग सहकार्य गरेर काम गर्नका लागि तयार रहेको पनि बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘सम्बन्ध विच्छेद’ गरेर बाइडेनलाई बधाई दिएको तथा सहकार्यका लागि तयार रहेको बताएका हुन् ।

यस्तै बाइडेनको जितलाई स्वीकार नगरेका तीन देशका नेताले पनि इलेक्टोरल कलेजले जित निश्चित गरेपछि मौनता तोडेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मंगलबार बाइडेनलाई बधाई दिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले रनअफ चुनावका लागि दुई डेमोक्र्याटिक उम्मेदवार जो ओसफ र राफायल वार्नकका लागि चुनावी अभियानमा सामेल हुन जर्जियाको एट्लान्टा पुगेका छन् । उनले दुवै डेमोक्र्याटिक उम्मेदवारलाई जिताउन जर्जियाका मतदातासँग अपिल गरेका छन् ।

jackson ribon