Rumpum Advertisement

छ घण्टासम्म शल्यक्रिया भइरहँदा नौ वर्षीय बालिकाले बजाइरहिन् पियानो

Neuro
छ घण्टासम्म शल्यक्रिया भइरहँदा नौ वर्षीय बालिकाले बजाइरहिन् पियानो

विराटनगर । भारतको मध्यप्रदेशको ग्वालियरमा दिमागको शल्यक्रिया गरिरहेको बेलामा ९ वर्षीया बालिकाले पियानो बजाइरहेकी थिइन् । दिमागबाट ट्युमर निकाल्ने शल्यक्रियामा सौम्या नामकी बालिकाले सुरुआतदेखि अन्त्यसम्मै पियानो बजाउने, गीत गाउने र मोबाइलमा गेम खेलिरहेकी थिइन् ।

मुरैना जिल्लाको बानमोरकी सौम्यालाई मिर्गी रोगको समस्या थियो । उनी पछिल्लो २ वर्षदेखि मिर्गीको चारवटा औषधि खाँदै थिइन् । तर औषधिको सेवन गरेपनि उनको स्वास्थ्यमा केही पनि फाइदा पुगेको थिएन ।

करिब एक वर्षअघि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । एक वर्षअघि र हाल गरिएको सिटी स्क्यानको रिपोर्टमा ट्युमर चार गुणा बढिसकेको कारण शल्यक्रिया गर्नुपर्ने भएको थियो ।

शल्यक्रिया कठिन र जोखिमपूर्ण हुने भएकाले सुरुमा उनको परिवार शल्यक्रिया गर्न तयार थिएनन् । तर, करिब ६ घण्टा लामो चलेको शल्यक्रियामा बालिकाको टाउकोको हड्डीबाट ट्युमर सफलतापूर्वक निकालिएको थियो ।

शल्यक्रियापछि अहिले सौम्या स्वस्थ छिन् र अस्पतालबाट डिस्चार्ज भई आफ्नो घर फर्किसकेकी छन् । उक्त शल्यक्रिया शुक्रबार ग्वालियरस्थित बिरला अस्पतालमा डा. अभिषेक चौहानको नेतृत्वमा भएको थियो ।

यस प्रकारको शल्यक्रिया गर्दा दिमागका अन्य स्नायुहरूलाई हानी गर्ने सम्भावना रहेकाले बिरामीलाई बेहोस पार्न नहुने तथा निदाउनसमेत नहुने हुँदा बिरामीलाई मनपर्ने काम गराई बेहोस नपारी शल्यक्रिया गरिन्छ ।

डाक्टरहरूले उनलाई पियानो बजाउन मन पर्छ भन्ने थाहा पाएपछि शल्यक्रियाको क्रममा पियानो बजाउन लगाए । शल्यक्रिया आवश्यक पर्ने टाउकोको भागमा मात्र एनेस्थेसिया दिइएको थियो ।