Rumpum Advertisement

विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि

Neuro
विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि

विराटनगर । विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको छ । चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको हो ।

सामान्यतया हावामा प्रदूषणको मात्र ४०–६० सम्मलाई सामान्य मानिन्छ । तर मङ्गलबार दिउँसो विराटनगरको वायु प्रदूषणको अवस्था (एयर क्वालेटी इन्डेक्स) २२१ पुगेको थियो । यो घटबढ भइरहन्छ । तर पछिल्लो केही दिनयता इन्डेक्स २०० भन्दा तल झरेको छैन ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केल विधिबाट पनि मापन गरिन्छ ।

उनका अनुसार लकडाउनको समयमा विराटनगरमा प्रदूषणको मात्र घटेको थियो । तर जनजीवन सामान्य भएसँगै हावामा प्रदूषण बढेको हो ।

‘सवारी साधनको धूलो धुँवाका काण वायुमण्डलमा धेरै भयो । यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ,’ अधिकारी भन्छन्, ‘चिसोका कारण प्रदषण बढेको छ ।’

उनका अनुसार मानिसले ग्रहण गर्ने हावा दुषित भए श्वासप्रश्वासमा समस्या देखिन्छ । प्रदूषित हावामा लिड, मर्करी, क्याडनियम जस्ता धातुले मात्रा बढी हुन्छ । जसले श्वासप्रश्वासमा समस्यासँगै हृदयघातको समस्या निम्त्याउन सक्छ ।

धूलो कण तथा धातू श्वासप्रश्वासबाट भित्र छिर्ने र शरीरका स–साना कोषलाई बन्द गर्ने हुँदा विभन्न समस्या देखिन सक्छ । वातावरण विज्ञ अधिकारीका अनुसार चिसो मौसममा धुँवा तथा धूलोको कण उडेर धेरै माथि जान सक्दैन । जसका कारण प्रदूषणको मात्रा बढी देखिने उनले बताए ।

विराटनगर महानगरपालिका वातावरण शाखाकी अधिकृत अनिता न्यौपानेका अनुसार गत साउनयता विराटनगरमा वायू प्रदूषणको मापन सुरु भएको थियो । केन्द्र सरकारको योजना अनुसार विराटनगर महानगरपालिकाको समन्वयमा मापन थालिएको उनले बताइन् ।

उनका अनुसार वायुको गुणस्तर मापनका लागि उपकरणहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा राखिएको छ । विवरण उल्लेख गर्ने डिस्प्ले जिल्ला वन कार्यालयमा राखिएको छ ।