Rumpum Advertisement

अध्यादेश सरकार सर्वसत्तावाद र निरङ्कुशतातर्फ अगाडि बढेको थप प्रमाण : नेता पौडेल

Neuro
अध्यादेश सरकार सर्वसत्तावाद र निरङ्कुशतातर्फ अगाडि बढेको थप प्रमाण : नेता पौडेल

काठमाडौं/ नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत् नेता पौडेलले अध्यादेश जारी गर्नु सरकार सर्वसत्तावाद र निरङ्कुशतातर्फ अगाडि बढेको थप प्रमाण भएको बताए ।

मङ्गगबार राष्ट्रपतिले मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम यो अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषद्मा हाल कायम रहेका सदस्यहरूको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरेको छ ।

‘संवैधानिक परिषद्को मुल मर्मविपरीत संवैधानिक निकायमा आफूअनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरङ्कुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो । यस्ता कार्यको म घोर विरोध गर्दछु’, उनले लेखेका छन् ।