Rumpum Advertisement

आज अन्तर्राष्ट्रिय चिया दिवस : हप्तामा तीन पटक चिया पिउने मानिस धेरै बाँच्ने

आज अन्तर्राष्ट्रिय चिया दिवस : हप्तामा तीन पटक चिया पिउने मानिस धेरै बाँच्ने

विराटनगर । आज अन्तर्राष्ट्रिय चिया दिवस । सङ्युक्त राष्ट्र सङ्घका अनुसार हरेक १५ डिसेम्बरमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । सन् २००५ देखि नेपाल, भारत, श्रीलङ्का, भियतनाम, इन्डोनेशिया, बङ्गलादेश, केन्या, मलावी, मलेसिया, युगान्डा र तान्जानिया जस्ता चिया उत्पादन गर्ने देशहरूमा १५ डिसेम्बर मा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ ।

अधिकांश मानिसलाई बिहान उठ्नेबित्तिकै वा दिनको सुरुआत गर्न चिया नै चाहिन्छ । चिया पिउनका लागि समय नचाहिने हुँदा अल्छी लाग्दा, पाहुना आउँदा, साथीभाइ भेट्दा वा बिहान, दिउँसो, साँझमा गरी ३ पटक वा सोभन्दा धेरै पटक चिया पिउने गर्छन् ।

चिया पिउने बानी भएकामा कोहीलाई चिया नपिएको कारण टाउको दुख्ने, अल्छी लाग्नेसमेत हुने गरेको हुन्छ । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित गरिएको अध्ययनअनुसार चियाको सेवन स्वस्थ र लामो जीवनसँग सम्बन्धित गरिएको छ ।

हर्टअट्याक, स्ट्रोक वा क्यान्सरको इतिहास नभएको एक लाखभन्दा बढी मानिसको समावेश गरिएको अध्ययनमा सहभागीलाई दुई समूहमा वर्गीकृत गरिएको थियो । हप्तामा तीन पटक वा धेरै चिया पिउने र हप्तामा तीन पटकभन्दा कम चिया पिउनेगरी दुई समूह बनाइ अध्ययन गरिएको हो ।

हप्तामा तीन पटक वा धेरै चिया पिउने मानिसमा हृदय रोग र स्ट्रोकको विकास हुन चिया नपिउनेको तुलनामा एक वर्षभन्दा बढी समय लाग्ने अध्ययनले देखाएको छ ।

अध्ययनका लेखक, चिनियाँ एकेडेमी मेडिकल साइंसेजको जिन्याङ वाङ, चिया पिउने बानी भएका मानिसमा मुटरोग वा अन्य कारणले हुने मृत्युको जोखिम कम हुने बताउँछन् । चिया पिउने बानी भएका मानिसमा मुटु रोग र स्ट्रोकको समस्या २० प्रतिशत कम भएको र अन्य कारणले हुने मृत्युको जोखिम १५ प्रितिशत कम हुने अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा दुध चिया, कालो चिया वा चियाका अन्य किसिमभन्दा पनि ग्रीन टी पिउने मानिसले लामो जीवन बिताउनसक्ने अध्ययनको निष्कर्ष रहेको छ ।