birat ribon

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

Neuro
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

विराटनगर/प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरी प्रयोशालाको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । उनले भने, ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाको काम गर्नेछ ।’

cura insider

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाडौँ र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए । मन्त्री घिमिरेले भने, ‘प्रदेशभित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको आठ महिनापछि सेवा सुरु गरिने दावी गरे । छ महिनाभित्रमा निर्माण सम्पन्न हुने उनले बताए ।

प्रदेश सभाषद् जयराम यादवले कुनै पनि परीक्षणका लागि काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरी सेवा सुरु गर्न सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेशस्तरीय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताए । उनले प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षणलगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए ।

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्लेलगायतले बोलेका थिए । सेभ द चिल्ड्रेन र ग्लोबल फन्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइने सेभ द चिल्ड्रेनका वरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले आठ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।

jackson ribon