Rumpum Advertisement

मिति गुज्रिएको राजनीतिक अभ्यासमा निहित स्वार्थको गोलचक्कर

मिति गुज्रिएको राजनीतिक अभ्यासमा निहित स्वार्थको गोलचक्कर

हामी सिद्धान्तको कुरा गर्छौँ । जनतालाई सदैव खुसी बनाउने, समाजवादको फराकिलो फाँटमा पुर्‍याउने कुरा गर्छौँ । तर हाम्रो सैद्धान्तिक धरातल अधकचल्टिएको छ । यो कोही एक वा दुई जनाको समस्या होइन, सामाजिक कलङ्कका रूपमा हुर्किँदै गएको छ ।

हाम्रो सिद्धान्तअनुसार व्यवहार छैन । सिद्धान्त र व्यवहार निहित स्वार्थको गोलचक्करमा भुमरिएको छ । ‘बाँच र बाँच्न देऊ,’ जस्तो आदर्श मार्गचित्रमा ज्यानमारा व्यवहारले परेड खेलिरहेको छ ।

‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मामृतम् गमय ।’ अर्थात् असत्यबाट सत्यतर्फ, अँध्यारोबाट उज्यालोतर्फ, मृत्युबाट जीवनतर्फ हाम्रो सनातन मार्गनिर्देशक सिद्धान्त हो । हामी असत्य, अन्धकार र अनपेक्षित मृत्यु चाहँदैनौँ ।

सिद्धान्तः हामी सही छौँ । तर व्यवहारमा हामी कफल्लो बनेका छौँ । हामी मान्छे मार्छौँ र भन्छौँ यो त आवश्यक थियो । हामी गल्ती गर्छौँ र भन्छौँ गहुँसँग घुन पनि पिसिन्छन् । सार्वजनिक भाषण गरेर, विज्ञप्ति प्रकाशित गरेर ज्यानमारेको अभियोग स्वीकार्छौँ तर राजनीतिक आवरणमा निरपराधी भएको तर्क गर्छौँ ।

विडम्बना अपराधमा भएको सार्वजनिक स्वीकारोक्ति दुई–चार दिन चर्चा हुन्छ, त्यसपछि सेलाउँछ, जुन कमजोरीको टेकोमा आततायीहरू मौलाउँछन् । हामी मुलुकमा बढ्दो हत्या–हिंसा र अपराधीले सहज उन्मुक्ति पाएको घटनाबारे मानवअधिकार दिवसको सेरोफेरोमा चिन्तित हुन्छौँ । तर केही दिनपछि त्यस्तो चिन्ता राज्य र समाजको प्राथमिकताभन्दा बाहिर पुग्छ । यसरी हामी जानी नजानी दण्डहीनता संस्थागत गर्ने कारक बनिरहेका छौँ ।

तर यो कुनै सामान्य सवाल होइन । निरन्तर गहिरिनु, गम्भीर हुनुपर्ने विषय हो । हामी चाहँदा–चाहँदै पनि अनपेक्षित मृत्यु रोक्न किन असमर्थ छौँ ? हामी हत्यारालाई समाजमा किन प्रश्रय दिइरहेका छौँ ? हामी हत्याराको मतियार र रमिते किन बनिरहेका छौँ ?

‘देशभित्रको एउटा मुख्य मानवअधिकार मुद्दा सङ्क्रमणकालीन न्याय सुल्झन नसक्दा नेपाल बारम्बार अन्तर्राष्ट्रिय जगतमा आलोचित बन्ने गरेको छ ।’ मानवअधिकारका कुरा पदावली गुगल सर्च गर्दा यस्तो वाक्य आउँछ, ट्रेन्डिङमा । यसको सङ्केत के हो ? के यही हो हामीले चाहेको समृद्ध र ‘नयाँ नेपाल’को प्रतिबिम्बन ?

आफ्ना विचारप्रति असहमति राख्नेहरूप्रति हतियार, पैसा र सङ्गठन–शक्तिको आडमा हिंसा थोपरिएको छ । दुई–चार जना मान्छे मारेर सत्तामा आफ्नो उपस्थिति खोज्ने मिति गुज्रिएको राजनीतिक सिलसिला र सशस्त्र द्वन्द्वको ह्याङओभर जारी छ । हिंसाको राजनीति अभीष्ट बनेको छ ।

पृष्ठभूमिमा मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव माओवादी कार्यकर्ताबाट भएको हत्या–सन्दर्भ छ । राजनीतिक प्रतिशोधका लागि मान्छे मारिएको यो पछिल्लो घटना हो । यसअघि सुराकी, अराष्ट्रिय तत्त्व, दुस्मन आदि अनेक पदावलीको आवरणमा व्यक्ति–हत्याको सिलसिला खुब चल्यो यो देशमा । तर उपलब्धि भयो के ? उही भ्रष्टता, उही भोग–लिप्साको बढोत्तरी, उही भुरे–टाँकुरेहरूको अभ्युदय, जनताको सपनामा तुषारापात ।

कोही आफूप्रति असहमत भयो वा कसैले चाहे जति चन्दा दिएन भन्दैमा मान्छे मार्न पाइँदैन । मान्छेको कन्चटमा बन्दुक र घाँटीमा खुकुरी तेर्‍स्याएर डरको छायामा राजनीति गर्ने शैली सदैव आलोच्य हुन्छ । त्यसै पनि भुइँ तहका जनता हिजो आफैँले विश्वास गरेर हुर्काएको नेतृत्वको भ्रष्टताबाट आजित छन्, त्यसमा सशस्त्र द्वन्द्वको नुनचुक नथपौँ । डरको छाया बढाएर राजनीतिक आत्मरतिमा रमाउने व्यवहारको जति आलोचना गरे पनि कम हुन्छ ।

सिद्धान्त र व्यवहार दुवैमा जनस्तरबाट वाहवाही हुने काम गरौँ कमरेडहरू ! सकिन्छ मान्छे बचाएर, समर्थक बढाएर राजनीति गरौँ, सकिँदैन मान्छे नमारौँ । सकिन्छ गाउँमा बाटो, पुल बनाएर जनताको मन जितौँ, सकिँदैन भएका बाटो पुल भत्काएर समाजलाई पछि नधकेलौँ ।