Rumpum Advertisement

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी, प्रचण्डको आपत्ति

Neuro
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी, प्रचण्डको आपत्ति

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मङ्गगबार राष्ट्रपतिले मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम यो अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषद्मा हाल कायम रहेका सदस्यहरूको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरेको छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषद्का बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक सङ्ख्या पुग्ने थियो ।

प्रचण्डको आपत्ति

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै आपत्ति जनाएका छन् ।

उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् । यस्तै उनले अध्यादेश ल्याएर सरकारले असंवैधानिक हर्कत गरेको आरोप लगाएका छन् ।

लोकतन्त्रको उपहास हुनेगरी ल्याइएको अध्यादेश फिर्ता लिन प्रचण्डले माग गरेका छन् ।प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भएको बताउँदै प्रचण्डले पार्टीमा समेत अध्यादेशको विषयमा छलफल नभएको बताए ।