birat ribon

यस्ता छन् रक्तचापसँग जोडिएका केही भ्रम र त्यसका तथ्य

Neuro
यस्ता छन् रक्तचापसँग जोडिएका केही भ्रम र त्यसका तथ्य

विराटनगर/उच्च रक्तचापलाई हाई ब्लडप्रेसर वा हाइपरटेन्सन पनि भनिन्छ ।

सामान्य मनिसको शरीरको रक्तचाप भनेको १२०/८० हो । माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) एक सय ४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) मा ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । उच्च रक्तचापको समयमै उपचार नगरिए यसले हृदयघात गराउने, किड्नी फेल गराउने, पक्षघात गराउने गर्छ ।

cura insider

खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धुम्रपानको त्याग, नियमित शारीरिक व्यायाम, खानपानमा बढी ध्यान दिनु रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन् । उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ । उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि एक पटक प्रयोग गरिसके जीवनभर खाइरहनु पर्ने, परिवारमा उच्च रक्तचापको समस्या भएमा सन्तानमा पनि हुने तथा रक्तचाप नियन्त्रण गर्न सकिँदैनलगायतका धेरै भ्रम फैलिएको छ । तर, यसपछाडिको तथ्य मानिसहरूले बुझ्ने प्रयास गरेका छैनन् । समाजमा रक्तचापबारे फैलिएका केही भ्रम र त्यसका तथ्यहरू यस्ता छन् :

भ्रम : कुनै लक्षण छैन भन्दैमा उच्च रक्तचापको चिन्ता लिनु पर्दैन ।

तथ्य : उच्च रक्तचाप भएको व्यक्तिमा कुनै पनि लक्षण नदेखिन वा सामान्य टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छ । यदि स्वस्थ र कुनै लक्षण नदेखिए पनि गम्भीर स्वास्थ्य जटिलताबाट जोगिन कम्तिमा छ महिनामा एक पटक भए पनि रक्तचाप जाँच गर्नु आवश्यक हुन्छ ।

भ्रम : एक पटक जाँच गराउँदा उच्च रिडिङ आउनासाथ उच्च रक्तचाप भएको हो ।

तथ्य : हरेक मानिसको रक्तचाप दिनभर फरक हुन सक्छ । तनावमा हुँदा वा नर्भस भएको बेलामा रक्तचाप बढ्नुलाई सामान्य मानिन्छ । उच्च रक्तचापको एकल रिडिङले मानिसलाई उच्च रक्तचापको रोगी बनाउँदैन । उच्च रक्तचापको समस्या भएको निश्चित गर्न लगातार उच्च रिडिङ लिनु पर्छ ।

भ्रम : आमाबुबामा उच्च रक्तचापको समस्या भएमा सन्तानलाई पनि हुन्छ ।

तथ्य : यदि उच्च तथा कम रक्तचाप आमाबुबाबाट प्राप्त भएमा सम्भवतः यो विकास हुने गर्छ । तर, जीवनशैलीमा ल्याएको परिवर्तनले उच्च रक्तचापको समस्या बच्न मद्दत गर्छ । यदि परिवारमा उच्च रक्तचापको समस्या भए पनि खानपानमा ध्यान दिँदा, नियमित व्यायाम गर्दा, तनावबाट टाढा रहँदा, रक्सी र धुम्रपान त्याग गर्नाले उच्च रक्तचापको समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

भ्रम : उच्च रक्तचाप पुरुषलाई मात्र हुन्छ ।

तथ्य : दुबै पुरुष र महिलामा उच्च रक्तचापको उत्तिकै जोखिममा हुन्छन् । ४५ वर्षभन्दा कम उमेरका पुरुषमा उच्च रक्तचाप बढी सामान्य देखिन्छ र महिलामा यो सामान्यतया रजोनिवृत्तिपछि देखा पर्छ ।

भ्रम : रक्तचाप भएपछि यसलाई नियन्त्रण गर्न सकिँदैन ।

तथ्य : उच्च रक्तचाप सजिलै पत्ता लगाउनुका साथै यसलाई नियन्त्रण गर्न सकिन्छ । सामान्य रक्तचाप फिर्ता पाउनका लागि, केही जीवनशैली परिवर्तनहरू गरेर निर्धारित औषधिहरू समयमै सेवन गर्नुपर्ने हुन्छ ।

भ्रम : नुनबाहेक अन्य प्रकारका नुनको अत्यधिक सेवन गर्न सकिन्छ ।

तथ्य : दैनिक खाने नुन र अन्य प्रकारका नुनमा धेरै फरक हुँदैन । त्यसैले जुन नुनको प्रयोग गरे पनि ठिक्क मात्रामा मात्र नुनको सेवन गर्नुपर्छ ।

jackson ribon