Rumpum Advertisement

मधुमेह रोगीले यसरी गरौँ जाडोमा खुट्टाको स्याहार

Neuro
मधुमेह रोगीले यसरी गरौँ जाडोमा खुट्टाको स्याहार

विराटनगर/मधुमेह भएका बिरामीका शरीरका विभिन्न अङ्गमा समस्या हुने जोखिम उच्च हुन्छ ।

त्यसैगरी मधुमेह रोगबाट रक्तसञ्चालनमा अवरोध आउने हुँदा खुट्टाको समस्या देखापर्न सक्छ, जुन मधुमेहबाट हुने प्रमुख जटिलतामध्ये एक हो । मधुमेह भएकामा खुट्टामा सानो चोट लागे पनि निको हुन धेरै समय लाग्ने हुन्छ । जसकारण उनीहरूलाई खुट्टाको स्याहार गर्न जरुरी हुने सल्लाह दिइन्छ । मधुमेहसम्बन्धी खुट्टाको समस्या प्रायः बढी उमेरका, लामो समय मधुमेह भएका, रगतमा चिनीको स्तर नियन्त्रण नभएमा बढी देखापर्ने हुन्छ ।

मधुमेह भएका व्यक्तिमा खुट्टा गुमाउनुपर्ने जोखिमसमेत हुन सक्छ । जाडोको समयमा जहिले मोजा र जुत्ता लगाइरहने हो सोचेर खुट्टाको स्याहारमा लापरवाही गरेको देखिन्छ । तर, मधुमेहपीडित व्यक्तिले खुट्टाको स्याहारमा लापरवाही गर्नु हुँदैन । मधुमेह रोगीले मनतातो पानी र साबुनको प्रयोग गरेर दैनिक रुपमा खुट्टालाई सफा गरेर राख्नुपर्छ ।

खुट्टा सुख्खा हुन नदिन मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । तर, औँलाको काप भिजेको खण्डमा घाउ हुने, सङ्क्रमण हुन सक्ने हुँदा औँलाको कापलाई सुख्खा राख्ने गर्नुपर्छ । औँलाको कापमा जुनै पनि प्रकारको तेल तथा क्रिमको प्रयोग गर्नु हुँदैन । नङले पनि खुट्टामा समस्या निम्त्याउन सक्ने हुँदा खुट्टाको नङ सिधा पारेर काट्ने र उचित लम्बाइमा राख्नुपर्छ ।

जाडोको समयमा खुट्टा चिसो हुनाले दैनिक मोजा लगाइन्छ । रक्तसञ्चालनमा अवरोध पुग्न सक्ने हुँदा कसिलो मोजाको प्रयोग गर्नु हुँदैन । साथै, लगाएको मोजा दिनहुँ फेर्ने र फोहर मोजा कहिले पनि लगाउने गर्नु हुँदैन । घरभित्र होस् वा बाहिर मधुमेह रोगीले खाली खुट्टा कहिले पनि हिँड्नु हुँदैन । आफूले प्रयोग गर्ने चप्पल, जुत्तामा ढुङ्गा, काँटी परेको, फाटेको छ वा छैन भनेर दैनिक जाँच गर्ने गर्नुपर्छ ।

यसले भविष्यमा खुट्टामा लाग्ने चोटको सम्भावनालाई घटाउँछ । रक्तसञ्चालनमा सहयोग पुर्‍याउनका लागि नियमित व्यायाम, समय–समयमा हिँड्ने र बेलाबेलामा खुट्टाका औँलाहरू चलाइराख्ने गर्नुपर्छ । खुट्टामा कुनै पनि प्रकारको रातोपन, चोटपटक, फोका आदि देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।