Rumpum Advertisement

एउटै तरकारीको फरक–फरक मूल्य, उपभोक्ता मारमा

एउटै तरकारीको फरक–फरक मूल्य, उपभोक्ता मारमा

मोहन ढकाल

विराटनगर/बजारमा अनुगमन फितलो हुँदा बिक्रेताले तरकारीको मूल्य मनपरी लिइरहेका छन् । विराटनगरको मुख्य तरकारी बिक्री केन्द्र गुद्री बजारसँगै ठूला मार्केटले महँगोमा तरकारी बेचेर उपभोक्ता ठगिरहेका छन् ।

एकै किसिमको तरकारीमा आफूखुसी मूल्य राखेपछि मारमा परेको उपभोक्ताले बताएका छन् । तरकारीको थोक बजार गुद्रीमा मूल्यसूची कायम छैन । मूल्यसूची कायम भएका विराटनगरका ठूला व्यापारिक केन्द्रमा समेत तरकारीको मूल्यमा एकरुपता छैन । विराटनगरको गुद्री बजार, भाटभटेनी सुपर मार्केट र सेन्ट्रल बजारमा एउटै तरकारी फरक–फरक मूल्यमा बिक्री भइरहेको छ ।

विराटनगरको गुद्री बजारमा गाँजर प्रतिकेजी एक सयदेखि एक सय ४० सम्म पर्ने गरेको छ । सोही गाँजर सेन्ट्रल बजार र भाटभटेनीमा प्रतिकिलो एक सय पाँच रुपैयाँ पर्ने गरेको छ । गुद्रीमा रातो नयाँ आलु प्रतिकिलो ६० देखि ७० मा पाइन्छ । सोही आलु सेन्ट्रल बजार र भाटभटेनीमा क्रमशः ९५ र ९० पर्ने गरेको छ ।

यस्तै पुरानो आलु गुद्रीमा ५० देखि ६० रुपैयाँ प्रतिकेजी पर्ने गरेको छ । सोही आलुको सेन्ट्रल बजार र भाटभटेनीमा मूल्य क्रमशः ७८ र ८० छ । यस्तै गुद्रीमा प्याज प्रतिकिलो ९० रुपैयाँसम्म पर्छ । सोही प्याज सेन्ट्रल बजारमा एक सय रुपैयाँ छ । सेन्ट्रल बजारमा प्रतिकिलो ७० रूपैयाँ प्रतिकिलोमा पाइने टमाटर भाटभटेनीमा ७५ र गुद्री बजार ८० रूपैयाँमा बिक्री भइरहेको छ ।

करेला, भिन्डी, बैगुन, परवल, खोर्सानी, अदुवा, काँक्रालगायतका अन्य तरकारीमा पनि मूल्य फरक–फरक छ । गुद्रीमा प्रतिकिलो ८० पर्ने काँक्रा भाटभटेनीमा ५० र सेन्ट्रल बजारमा ५१ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । गुद्री बजारमा परवल ९० देखि ९५ रुपैयाँ र भाटभटेनीमा ७५ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । सेन्ट्रल बजारमा करेला प्रतिकिलो ५५ रुपैयाँ बिक्री भइरहेको छ भने भाटभटेनीमा ६५ र गुद्री बजारमा ७० देखि ८० सम्म पर्ने गरेको छ ।

गुद्रीमा हरियो खुर्सानी एक सयदेखि एक सय २० सम्म पर्ने गरेको छ भने भाटभटेनी र सेन्ट्रल बजारमा एक सय १५ पर्ने गरेको छ । यस्तै अदुवाको पनि फरक–फरक मूल्य पर्ने गरेको छ । गुद्रीमा अदुवाको ६० देखि एक सयसम्म पर्ने गरेको छ भने भाटभटेनीका ८० रुपैयाँ प्रतिकिलो पर्ने गरेको छ ।

गुद्रीमा लसुन प्रतिकिलो एक सय ७० देखि दुई सयसम्म पर्ने गरेको छ । सोही लसुनको सेन्ट्रल बजार र भाटभटेनीमा दुई सय मूल्य छ । गुद्रीमा मुला प्रतिकेजी २० देखि ३० रुपैयाँ छ । यस्तै भाटभटेनी र सेन्ट्रल बजारमा क्रमशः १८ र १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।