Rumpum Advertisement

अत्यधिक चिनीको सेवनले शरीरमा क्यान्सर निम्त्याउने कोष वृद्धि गर्न सक्ने

अत्यधिक चिनीको सेवनले शरीरमा क्यान्सर निम्त्याउने कोष वृद्धि गर्न सक्ने

विराटनगर/चिनीले शरीरमा क्यान्सर निम्त्याउने ट्यूमरको वृद्धि गर्न सक्ने देखिएको छ ।

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित बेल्जियममा गरिएको अध्ययनले अत्यधिक चिनीको सेवनले शरीरमा अवस्थित क्यान्सर कोषको द्रुत वृद्धि गर्न सक्ने देखाएको हो ।

नौ वर्ष लामो अध्ययनमा अनुसन्धानकर्ताहरूले प्रयोगशालामा क्यान्सर सेलको रूपमा काम गर्ने जस्तो इस्ट कोषहरूलाई नजिकबाट अवलोकन गरेका थिए । अध्ययनकर्ताको टोलीले इस्ट सेलहरू किन्वन (फर्मेन्टेसन) प्रक्रियाले गुणा र विस्तार गर्ने पत्ता लगाएका थिए । शरीरमा रहेको क्यान्सरयुक्त कोषले फर्मेन्टेड गरिएको चिनीबाट उर्जा प्राप्त गर्छ ।

यो प्रक्रिया गैर–क्यान्सरयुक्त कोशिकाहरूको विकासको विपरीत हो, जसले ग्लुकोजलाई शरीरका लागि ऊर्जामा रूपान्तरण गर्न अक्सिजनको प्रयोग गर्छन् । अध्ययनको निष्कर्षअनुसार अत्यधिक चिनीको सेवनले शरीरमा अवस्थित क्यान्सर कोषहरूलाई जगाउँछ र ट्यूमरको द्रुत वृद्धि गर्न सक्ने देखाएको हो ।

चिनीलाई क्यान्सरयुक्त कोशिकाको वृद्धिसँग जोडेको यो पहिलो अध्ययन भने होइन । अन्य अध्ययनका अनुसार पनि धेरै मात्रामा चिनी सेवन गर्दा एसोफेजियल क्यान्सरसहित विभिन्न प्रकारको क्यान्सरको जोखिम बढ्न सक्छ । धेरै चिनीको सेवनले तौल बढ्ने, मोटोपनाको समस्या, मधुमेह र क्यान्सरको जोखिम बढाउन सक्छ ।