Rumpum Advertisement

बेरोजगारलाई रोजगारी दिँदै हाम्रो टिम

Neuro
बेरोजगारलाई रोजगारी दिँदै हाम्रो टिम

काठमाडौँ/काठमाडौँ उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजनाअनुसार काम भइराखेको बताए । अहिले काठमाडौँ उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन–पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए ।

अब भने कोठा पनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको पन्तले बताए । अहिले हाम्रो टिम नेपालमा खाना खान आउनेमध्येका करिब ७०/८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बताए ।

हाम्रो टिम नेपालले मङ्गलबार काठमाडौँमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।