Rumpum Advertisement

अमेरिकामा नर्सले लगाइन् पहिलो खोप

अमेरिकामा नर्सले लगाइन् पहिलो खोप

विराटनगर/अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सोमबारदेखि थालिएको छ ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम न्यूयोर्कबाट सुरु गरिएको हो । न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई खोप लगाएर खोप अभियान सुरु गरिएको हो । सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन् ।

उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने लिन्ड्सेले आशा व्यक्त गरेकी छिन् ।

फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ । त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेको ठानिएको छ । अधिकारीहरूले आउँदो एप्रिलसम्म १० करोड मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन् ।

फाइजर–बायोएनटेक खोपले गत शुक्रबार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो ।