Rumpum Advertisement

शीतलहरले जनजीवन कष्टकर बन्दै, छैन पूर्वतयारी

शीतलहरले जनजीवन कष्टकर बन्दै, छैन पूर्वतयारी

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरलगायत तराईमा सुरु भएको शीतलहरका कारण जनजीवन अतिनै कष्टकर बन्दै गइरहेको छ ।

केही दिनदेखिको बाक्लो हुस्सु र कुहिरो तथा चिसो हावासँगै शीतलहर चल्न सुरु भएको हो । मौसम एक्कासि चिसिएपछि जनजीवन नराम्ररी प्रभावित बनेको छ । जसका कारण सामान्य हिसाबले बनिबुतो गरेर जीवनयापन गर्दै आएकाहरु, आर्थिक अवस्था कमजोर भएकाहरु, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती महिला, वृद्धवृद्धा र बालबालिकालाई बढी कष्ट भएको छ ।

शीतलहर चल्न थालेर चिसो बढेपछि समय काट्न सर्वसाधारणलाई मुस्किल पर्न थालेको हो । विराटनगरमा मंगलबार बिहान वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाका अनुसार मंगलबार बिहान विराटनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम रहेको उनको भनाइ छ । सोमबार विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र आइतबार १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसममा आएको परिवर्तनसँगै केही दिनदेखि घाम लाग्न नसक्दा तापक्रममा नियमित गिरावट आएर धेरै चिसो महसुस भइरहेको देउजाले बताए । हुुस्सुसँगै चिसो बढेर मौसममा उतारचढाव सुरु भएपछि दिन प्रतिदिन तापक्रममा गिरावट आइरहेको छ । ‘ विराटनगरको तापक्रम ओरालो झर्ने क्रममा छ,’ उनले भने, ‘त्यही भएर पनि चिसो बढ्दै गएको अनुभव भइरहेको हो ।’ कम तापक्रमसँगै हुस्सु र हावाका साथमा एक्कासि चलेको शीतलहरका कारण बढी चिसो भएको देउजाको भनाइ छ । उनका अनुसार घाम नलाग्दा, हुस्सु लाग्दा र पश्चिमी वायुको प्रभावले दिन प्रतिदिन चिसो बढ्दै गइरहेको छ भने यस्तो अवस्था केही दिन कायम रहने अनुमान गरिएको छ ।

हुस्सुका कारण नजिकैको पनि देख्न नसक्ने अवस्थामा रहेको विराटनगरको महेन्द्र चोक ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरले चिसोबाट बच्ने उपायको खोजी गर्न सबैमा आग्रह गरेको छ । कार्यालय प्रमुख देउजाका अनुसार बच्नका लागि उचित उपायको खोजी गरिए मात्रै चिसोका कारण कुनै क्षति हुन पाउँदैन । उनका अनुसार विगत वर्षमाभन्दा यसवर्ष अलि चाँडो चिसो सुरु भएको हो । पहिलेपहिले पुसबाट सुरु हुने यसखाले चिसो यस वर्ष मंसिर अन्तिमबाटै सुरु भएको उनको भनाइ छ ।

चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम छ । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या सामान्य अवस्थाकोभन्दा कम हुँदै गएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । सडकमा सवारी साधन पातलिएका छन् । सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्यामा पनि कमि आएको छ । कतिपय ठाउँमा सर्वसाधारण आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका छन् ।

चिसोका कारण घरबार बिहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्नेहरुको कन्तबिजोग भएको विराटनगर–५ का सन्तोष चौहानले बताए । ‘केही दिनदेखि घाम देख्न पाइएको छैन,’ उनले भने, ‘एकाबिहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि झन समस्या थपिएको छ ।’

हुस्सुका कारण विराटनगरमा फक्स लाइन बालेर गाडी कुदाइँदै ।

मौसम नखुलिरहेका बेला चिसो हावा र शीतलहरसँगै सर्वसाधारणले ठिहीको अनुभव गर्न थाले पनि उनीहरुलाई चिसोबाट जोगाउने कुनै कार्यक्रम सञ्चालन हुन सकिरहेको छैन । चिसोबाट हुने क्षति रोक्नका लागि कुनै पनि पूर्व तयारी गरिएको छैन । चिसोका कारण सर्वसाधारण कष्ट भोगिरहँदा सरकारी तवरबाट केही पहल नहुँदा थप अवस्था संकटग्रस्त बन्नसक्ने सरोकारवालाको भनाइ छ ।

विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले चिसोका कारण रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्यामासमेत वृद्धि भएको छ । अस्पतालमा चिसोका कारण बिरामीको चाप वृद्धिसँगै आकस्मिक कक्षमा शैयाको अभाव हुने अवस्था समेत आएको उनले बताए । कोरोना त्रासका कारण अरु बिरामीको प्रभावकारी उपचार हुनसकिरहेका बेला चिसोका कारण बिरामी हुनेको संख्या पनि बढ्न थालेको दासले बताए ।

कतिपय ठाउँमा चिसोबाट बच्नका लागि सर्वसाधारण एकै ठाउँमा भेला भई आगो बालेर ताप्न थालेका छन् । विराटनगरमा केही दिनदेखि घाम देख्न पाइएको छैन । हुस्सु र कुहिरोले घामको प्रकाशलाई छेल्दा दैनिक तापक्रममा गिरावट आइरहेको हो । हुस्सुले चालकलाई सवारी साधन चलाउन पनि गाह्रो हुन थालेको छ । नजिकको दृष्य पनि देख्नसक्ने अवस्था नभएपछि ट्राफिक प्रहरीले सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ ।

प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले सबै चालकलाई ‘फक्स लाइट’ बालेर मात्रै सवारी साधन चलाउन आह्वान गरिएको जानकारी दिए । ‘हुस्सुका कारण भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने भएकाले सवारी साधन सञ्चालनमा निक्कै समस्या भएको,’ उनले भने, ‘दुर्घटनाको जोखिम बढेपछि अगाडिको लाइट बालेर मात्रै सवारी साधन चलाउन भनिसकिएको छ ।’

लाइट बालेर सवारी चलाउँदा अगाडिबाट गाडी आइरहेको छ भन्ने अनुमान गर्न सहज हुने र दुर्घटनाको जोखिम टर्ने उनको भनाइ छ । एसपी शर्माका अनुसार अगाडि कुनै पनि सवारी साधन नदेखिँदा अर्को साधन ठोक्किएर दुर्घटना हुने जोखिम धेरै छ । केही दिनयता सवारी चालकले निक्कै जोखिम मोलेर गाडी कुदाइरहेको उनको भनाइ छ ।

विराटनगरका टेम्पो चालक राजकुमार दाहालले हुस्सुका कारण राम्ररी अगाडि नदेखिँदा दुर्घटनाको जोखिम बढेको बताए । ‘हुस्सुले अगाडि केही देखिँदैन,’ उनले भने, ‘अनुमानका भरमा गाडी कुदाउनुपर्ने अवस्था छ ।’

आगो बालेर चिसो भगाउँदै सर्वसाधारण ।

हुस्सुसँगै मौसममा आएको खरावीका कारण भिटिभिलिटी कम हुँदा दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमासमेत जहाज अवतरण र उडानमा समस्या भइरहेको विमानस्थल प्रमुख उत्सवराज खरेलले जानकारी दिए । उनका अनुसार मौसममा फेरबदल हुँदा उडानमा समस्या हुनु स्वभाविक हो । ‘चार÷पाँच दिनदेखि उडान ढिलो हुने र रद्ध गर्नुपर्ने समस्या कारण हवाई उडान प्रभावित बनिरहेको छ,’ खरेलले भने, ‘प्रत्येक दिन बिहान ८ बजेबाट सुचारु हुने विमानस्थल अहिले सञ्चालनमा आउनसक्ने अवस्था छैन ।’

उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् । खरेलले मौसम परिवर्तनसँगै उडान सुचारु हुननसक्दा यात्रुले समयमै गन्तव्यमा पुग्न नपाउने गरेको र कतिपय उडान रद्ध हुँदा यात्रु गन्तव्यमा जान नपाइकन फर्कनुपर्ने अवस्था रहेको सुनाए । उडानमा ढिलाई हुँदा विमानस्थलमा यात्रुको भीडभाड अत्याधिक हुने गरेका कारण कोरोना फैलने जोखिम बढेको उनले बताए । ‘एयरलाइन्सहरुले समयमै यात्रु बोलाएका हुन्छन् । बोलाएको समयमा यात्रु विमानस्थल आइपुग्छन्,’ उनले भने, ‘तर उडान ढिलो हुँदा विमानस्थल छाडेर जानसक्ने अवस्थामा पनि रहँदैन । त्यही भएर ठूलो भीडभाड हुँदा कोरोनाको जोखिम छ ।’

विमानस्थल प्रमुख खरेलले मौसमका कारण यात्रुहरुको चाप र उडानको समय व्यवस्थापन गर्न निक्कै मुस्किल परिरहेको सुनाए । जहाजलाई कम्तीमा पनि एक हजार छ सय मिटर भिजिविलिटी आवश्यक पर्ने उनको भनाइ छ । त्यही भएर बाक्लो हुस्सु नहटेसम्म उडानको सम्भावना नरहने उनले बताए । खरेलका अनुसार कहिले काहीँ घाम लागे पनि तुवाँलोका कारण भिजिविलिटी कम हुँदासमेत उडान प्रभावित हुने गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिएको बताए । चिसोले सबैलाई गाँज्दै लगेको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी भइरहेको उनको भनाइ छ । चिसोबाट प्रभावितलाई जोगाउनका लागि गृह मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको निरौलाको भनाइ छ ।

जिल्ला समन्वय समिति, सबै स्थानीय तह, प्रहरी एवं विभिन्न संघ संस्थालाई आआफ्नो तर्फबाट चिसो पीडितलाई सहयोग पु¥याउन आग्रह गर्न थालिएको उनले बताए । शीतलहर चल्न थालेका कारण त्यसबाट हुनसक्ने सम्भावित क्षति कम गर्न मोरङका सरकारी तथा गैर सरकारी निकायलाई सक्रिय गराउने तयारी भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

विभिन्न निकायसँगको समन्वयमा चिसोका सम्भावित पीडितलाई लक्षित गरेर न्याना लुगाको खोजी गर्न थालिएको उनले बताए । चिसोबाट बढी प्रभावित हुने सम्भावित क्षेत्रको विवरण संकलन गर्दै पीडितका लागि न्याना लुगा र आवश्यक सामग्रीको जोहो गर्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने जानकारी उनले दिए ।

चिसोबाट प्रभावित हुने क्षेत्रको पहिचान गर्दै विवरण संकलन गरेर पठाउनका लागि मोरङमा प्रहरी र स्थानीय तह समेतका निकायलाई परिचालनको तयारी गरिएको छ । निरौलाका अनुसार आर्थिक अवस्था कमजोर भएका र लत्ताकपडा पर्याप्त नभएकाहरुलाई चिसोमा कपडा वितरण गरिने छ । ‘चिसोबाट विगत वर्षमा झै क्षति नहोस भनेर सावधानी अपनाइने छ,’ उनले भने , ‘कहाँ कहाँ र कुन कुन ठाउँमा शीतलहरले बढी प्रभाव पार्छ भन्ने बारेमा जानकारी लिने काम भइरहेको तथा क्षति न्यूनीकरणका लागि काम थालिएको छ ।’

उनका अनुसार चिसोबाट जोगिनका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, चिसोका बारेमा प्रचारप्रसार गर्ने, प्रभावितका लागि अग्रीम रुपमा राहत संकलन गर्ने, आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्नेलगायतका कामहरु हुने छन् । अब मौसमको भविष्यवाणीका लागि जल तथा मौसम विज्ञान फिल्ड कार्यालयसँग समन्वय गर्दै त्यहाँबाट बढ्दो चिसोका सम्बन्धमा दैनिक सूचनासमेत लिन थालिने प्रजिअ निरौलाले बताए ।