Rumpum Advertisement

गम्भीर घाइते हुनबाट बचेँ : नेयमार

Neuro
गम्भीर घाइते हुनबाट बचेँ : नेयमार

विराटनगर/ पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड नेयमारले आफू गम्भीर घाइते हुनबाट जोगिएको बताएका छन् । लिग वानअन्तर्गत लियोनसँगको खेलका क्रममा घाइते भएका नेयमारले आफ्नो चोट गम्भीर नभएको बताएका हुन् ।

आइतबार राति पिएसजीले आफ्नै मैदानमा लियोनसँग १–० गोलको हार ब्यहोरेको थियो । सो खेलको इन्ज्युरी समयमा लियोनका थियागो मेन्डेसले नेयमारमाथि खराब ट्याकल गरेका थिए जसकारण उनले आँसु झार्दै मैदानबाट बिदा लिएका थिए । यता, मेन्डेसलाई पनि रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड दिँदै मैदानबाहिर पठाएका थिए ।

आँसु झार्दै मैदानबाट बाहिरिएका नेयमारको चोट गम्भीर हुनसक्ने आँकलन गरिएको थियो । तर, २८ वर्षीय नेयमारले सामाजिक सञ्जालमार्फत् गम्भीर घाइते हुनबाट जोगिएको उल्लेख गर्दै चाँडै ठीक हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

‘यो साँच्चै खराब ट्याकल थियो त फेरि एक पटक भगवानले मलाई गम्भीर घाइते हुनबाट जोगाए । पीडाका कारण म रुएको थिएँ, आँसु झारेको थिएँ । तर, त्यति धेरै गम्भीर चोट रहेनछ । आशा छ चाँडै मैदान फर्किनेछु,’ उनले लेखेका छन् ।