Rumpum Advertisement

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

Neuro
बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गरेका छन् ।

उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला सोमबार मन्त्रालयमा चिनी मिलका सञ्चालकसँगको छलफलमा उनले किसानको समस्या बुझ्न मिल सञ्चालकलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री भट्टले भने , ‘‘किसानको भुक्तानी कसरी दिनुहुन्छ, त्यो तपाईंहरूको जिम्मेवारी हो, किसानको पनि समस्या बुझ्नुस्, किसानलाई समस्या नभएको भए यो जाडोमा आन्दोलन गर्न काठमाडौँ आउने थिएनन्, त्यो समस्या चाँडै समाधान गर्नुस् ।’’

भुक्तानी दिन बाँकी रहेका विभिन्न छवटा चिनी उद्योगका सञ्चालकसँग भट्टको उपस्थितिमा छलफल भएको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए । ‘‘वर्षौंदेखि किसानको भुक्तानी भएको छैन, पटक पटक भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर भुक्तानी हुँदैन । यस पटक कसरी हुन्छ भुक्तानी गर्नुस् । अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,’’ मन्त्री भट्टले स्पष्ट पारे ।

उद्योगीका साथै किसानलाई पनि राखेर छलफल गर्न खोजिएको थियो । त्यसका लागि आन्दोलनरत किसानका अगुवालाई पत्र लेखिएको थियो । तर किसान प्रतिनिधि आउन नमानेको सहसचिव रेग्मीको भनाइ छ । मङ्गलबार छलफल गर्न आन्दोलनरत किसानलाई बोलाइएको जनाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ