Rumpum Advertisement

काङ्ग्रेस नेता गच्छदारले अझै बुझेनन् अदालतको म्याद

काङ्ग्रेस नेता गच्छदारले अझै बुझेनन् अदालतको म्याद

विराटनगर । चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका काङ्ग्रेस नेता विजयकुमार गच्छदारले अदालतको म्याद बुझ्न आनाकानी गरिरहेका छन् ।

पूर्व उपप्रधानमन्त्री हुँदा बालुवाटारको सरकारी जग्गा हडप्न विशेष भूमिका खेलेको भन्दै उनलाई अदालतले म्याद पुर्जी जारी गरेको थियो । तर उनले अदालतको पत्र बुझ्न अस्वीकार गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको १० महिना बितिसम्दा पनि गच्छादारले म्याद बुझ्न आनाकानी गरिरहेको अदालत स्रोतले बतायो ।

बालुवाटारको एक सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका निर्वाह गरेको आरोपमा गत वर्ष माघ २३ गते आयोगले गच्छादारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार सोमबारसम्म प्रतिवादीहरुमध्ये ९७ जना म्याद बुझेर अदालतमा हाजिर भइसकेका छन् ।

आइतबार अदालत हाजिर भएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव एवम् अख्तियारकै पूर्व-प्रमुख आयुक्त दीप बस्न्यातलाई भने विशेष अदालतले पुर्पक्ष थुनामा पठाएको छ। न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले अरू प्रतिवादीहरूलाई धरौटी र साधारण तारिखमा छोडे पनि बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

बस्न्यातपछि गच्छदारमाथि अदालतले कस्तो निर्णय गर्छ भन्ने चासो सबैमा परेको छ । गच्छादारलाई १३ वर्षसम्म कैद सजायसहित नौ करोड ६५ लाख बिगो दाबी गरी आयोगले मुद्दा लगाएको छ। सुनसरी दुहबी नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा गच्छादारलाई विशेष अदालतले सुनसरी जिल्ला अदालतमार्फत म्याद तामेल गर्न पठाए पनि एक पटक फर्किएको र दोस्रोपटक तामेलीका लागि तोकेता गरेको प्रवक्ता पाण्डेले जानकारी दिए।

उनलाई गत फागुन १९ गते विशेषबाट म्याद तोमेलीका लागि सुनसरी पठाइएको थियो। तर म्याद तामेल हुन नसकेको जानकारी आएपछि विशेषले गत कात्तिक १८ गते म्याद तामेलीका लागि ताकेता गरेको छ। दुहबी स्थायी ठेगाना भए पनि गच्छादार हाल ललितपुरको सानेपामा बस्दै आएका छन् । तामेलदारले उनको घर पनि पत्ता लगाउन नसकेको बताइन्छ ।

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले गच्छादारको घरमा म्याद तामेल हुन नसकेको विषयमा जानकारी नभएको बताउँदै भने , ‘यो विषयमा म बुझ्छु। यो विषयमा तामिलदारसँग कुरा बुझेर मात्र प्रस्ट भन्न सक्छु ।’

विशेष अदालतबाट जारी हुने म्याद १५ दिनको हुने र गुज्रेको खण्डमा थप १५ दिन थाम्न पाइने नियम छ । प्रतिवादीले म्याद बुझेपछि मात्रै दिनगन्ती सुरु हुन्छ। प्रतिवाद स्वयम् वा उनका घर परिवारका सदस्‍यले अदालतको पत्र नबुझेसम्म दिनगन्ती सुरु हुँदैन।