Rumpum Advertisement

अमेरिकामा सङ्क्रमित सङ्ख्या एक करोड ७० लाखनजिक

अमेरिकामा सङ्क्रमित सङ्ख्या एक करोड ७० लाखनजिक

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ७० लाखनजिक पुगेको छ ।

एकै दिन एक लाख ६५ हजार एक सय २० जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ६९ लाख नौ हजार दुई सय ९५ पुगेको हो । आफूलाई विश्वकै शक्तिसाली भनेर चिनाउने अमेरिका कोरोना सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनिरहेको छ । दैनिक थपिने र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या अन्य मुलुकमाभन्दा उच्च छ ।

कोरोनाका कारण तीन लाख सात हजार आठ सय ५३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ६८ जनाको ज्यान गयो । सङ्क्रमितमध्ये ९८ लाख २८ हजार चार सय १० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । ६७ लाख ७३ हजार ३२ जनाको उपचाररत जारी रहेकोमा २७ जना छ सय ६७ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या ९९ लाख छ हजार चार सय ८४ पुगेको छ । एकै दिन २१ हजार सात सय ६८ नयाँ बिरामी थपिए । भारतमा सङ्क्रमितमध्ये एक लाख ४३ हजार सात सय ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन सय ५३ जनाको मृत्यु भयो ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा पर्छ । सङ्क्रमितमध्ये ९४ लाख २१ हजार सात सय ९५ जना निको भइसकेका छ । तीन लाख ४० हजार नौ सय ४३ जना उपचाररत छन् । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा सङ्क्रमित सङ्ख्या ६९ लाख २९ हजार चार सय नौ पुगेको छ । एकै दिन २७ हजार चार सय १९ नयाँ सङ्क्रमित थपिए । कोरोना सङ्क्रमित एक लाख ८१ हजार नौ सय ४५ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २६ जनाको मृत्यु भयो ।

ब्राजिल सङ्क्रमणबाट प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा पर्छ । सङ्क्रमण पुष्टि भएकामध्ये ६० लाख १६ हजार ८५ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु निको भएर कोरोनामुक्त हुँदै डिस्चार्ज भइसकेका छन् । सात लाख ३१ हजार तीन सय ७९ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा सङ्क्रमणबाट प्रभावित हुनेमध्ये चौथो नम्बरमा रहेको मुलुक रसियामा हालसम्म २६ लाख ८१ हजार दुई सय ५६ जनामा कोरोना पुष्टि भइसकेको छ । एकै दिन २७ हजार तीन सय २८ नयाँ बिरामी थपिए । कोरोनाका कारण ४७ हजार तीन सय ९१ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र चार सय ५० जनाको मृत्यु भयो ।

रसियामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१ लाख २४ हजार सात सय ९७ जना निको भइसकेका छन् । पाँच लाख नौ हजार ६८ जनाको उपचार जारी छ । उपचाररतमध्ये दुई हजार तीन सय जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

विभिन्न मुलुकमा दिन प्रतिदिन सङ्क्रमण तीव्र रुपमा फैलने क्रम जारी छ । विश्वमा मङ्गलबार बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या सात करोड ३१ लाख ४३ हजार तीन सय २९ पुगेको छ । एकै दिन चार लाख ९० हजार तीन सय ४६ जना नयाँ बिरामी थपिए । कोरोनाका कारण हालसम्म १६ लाख २७ हजार ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ४२ जनाले ज्यान गुमाए ।

सङ्क्रमण पुष्टि भएकामध्ये पाँच करोड १२ लाख ६३ हजार पाँच सय ४१ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किसकेका छन् । दुई करोड दुई लाख ५२ हजार सात सय ४२ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार तीन सय चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।