Rumpum Advertisement

पिएसजीलाई कोइम्यानको सन्देश : उनीहरूलाई पनि गाह्रो पर्नेछ

पिएसजीलाई कोइम्यानको सन्देश : उनीहरूलाई पनि गाह्रो पर्नेछ

विराटनगर/ स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्नुपर्ने भएको छ । यसअघि समूह चरणमा इटालियन क्लब युभेन्टससँग खेलेको बार्सिलोनाले अन्तिम १६ मा पिएसजीसँग खेल्ने पक्का भएको हो ।

सोमबार युइएफएले प्रि–क्वार्टरफाइनलको ‘ड्र’ सार्वजनिक गर्दै अन्तिम आठका लागि बार्सिलोनाले पिएसजीसँग खेल्नुपर्ने जनाएको हो । पिएसजी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने बार्सिलोना उपविजेता बन्दै प्रि–क्वार्टरफाइनल पुगेको हो ।

अब, पिएसजी र बार्सिलोना अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल फेब्रुअरी तथा दोस्रो लेगको खेल मार्चमा खेल्नेछन् । खेलअगाडि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले आफूहरूले धेरै बलियो टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको उल्लेख गरे ।

‘बार्सा टिभी’सँगको कुराकानीमा उनले आफूहरूसँग पनि बलियो टिम भएका कारण पिएसजीलाई गाह्रो हुने बताए । ‘हामीलाई थाहा थियो कि हामीले निकै बलियो टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछौं । तर, यति धेरै बलियो टोलीको सामना गर्नुपर्छ भन्ने लागेको थिएन । पिएसजीले हामीलाई यसअघि नै निकै दुःख दिएको छ । तर, उनीहरूलाई पनि गाह्रो पर्नेछ किनकि हामीसँग पनि बलियो टोली छ,’ उनले भने ।

‘यो निकै कठिन हुनेछ, पिएसजी त्यस्तो टोली हो जसले हरेक उपाधिका लागि भनेर धेरै नै रकम खर्चिएको छ । च्याम्पियन्स लिगका लागि पनि उनीहरूले खर्च गरेका छन् । अघिल्लो सिजन उनीहरू फाइनलसम्म पुगेका थिए । उनीहरू सधैं त्यस्तै स्तरमा खेल्छन् । तर, हामी पनि अगाडि बढ्न चाहन्छौं’, उनले थपे ।

यसैगरी कोइम्यानले च्याम्पियन्स लिगभन्दा अगाडि आफूहरूको ध्यान ला लिगामा भएको बताए । उनले भने, ‘अहिले हाम्रो लागि च्याम्पियन्स लिगभन्दा धेरै ला लिगाको खेल महत्त्वपूर्ण छन् । फेब्रुअरीमा के हुन्छ हेरौं । तर, पिएसजीसँगको खेलभन्दा अगाडि हाम्रा घाइते खेलाडीहरू ठीक हुने मैले अपेक्षा गरेको छु ।’