Rumpum Advertisement

परीक्षण कम हुँदा सङ्क्रमितको सङ्ख्या कम

परीक्षण कम हुँदा सङ्क्रमितको सङ्ख्या कम

काठमाडौं/ कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार चार सय २३ जनामा परीक्षण गरिएको पाइएको छ । जसमा आठ सय २१ जनामा सङ्क्रमण देखिएको छ ।

आज देखिएका सङ्क्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन् । आज थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ ।

यसअघि आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले सङ्क्रमित दर घटेको बताए । उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । रासस