विराटनगर/जाडोको समयमा चिसो अनुभव गर्नु सामान्य हो ।
तर, टन्न लुगा लगाउँदा पनि हरेक समय जाडो लागिरहे शरीरमा केही गडबडी भएको कारण हुनसक्छ । चिसोको लागि सबैको फरक प्रतिक्रिया हुन्छ । तापमान १० डिग्री सेल्सियसभन्दा कम भए पनि ठीकै महसुस गर्ने पनि हुन्छन् भने १५ डिग्री सेल्सियस पुग्नेबित्तिकै जाडो लागेर तातो लुगा लगाउँछन् ।
विभिन्न मेटाबोलिक दरको कारण महिला र पुरुषहरूमा समेत चिसो मसहुस गर्ने स्तर फरक हुन्छ । तर, कहिलेकाहीँ अन्यको तुलानामा अत्यधिक चिसो हुनु शरीरमा भएको विभिन्न समस्या वा रोगको सङ्केत हुन सक्छ । अन्यको तुलानामा अत्यधिक चिसो महसुस हुने कारण यस्ता छन् :
एनिमिया : शरीरमा स्वस्थ रातो रक्तकोषिकाको कमी भएमा एनिमिया हुन सक्छ । र, एनिमिया हुँदा पनि मानिसहरूलाई अत्यधिक चिसो लाग्न सक्छ । रातो रक्तकोषिकाले शरीरभर अक्सिजन पुर्याउने काम गर्छ तर, रातो रक्तकोषिकामा भइरहेको गडबडीले शरीरमा अक्सिनजको मात्रामा कमी ल्याएर शरीर चिसो भएको अनुभव गराउँछ । एनिमियाका कारण शरीरलाई आवश्यक मात्रामा आइरन पनि पुग्दैन । यसले हातखुट्टामा रक्तसञ्चारमा अवरोध पुर्याउने हुँदा हरेक समय जाडो भएको महसुस हुने हुन्छ ।
थाइराइडको समस्या : शरीरमा हार्मोनको गडबडीका कारण पनि जाडो अनुभव हुन सक्छ । थाइरोइड हर्मोनको कमीले शरीरले आन्तरिक तापक्रमलाई व्यवस्थित गर्न सक्दैन र अनावश्यक रुपले जाडो अनुभव हुन्छ ।
निद्रा : पर्याप्त आराम गर्न नपाउँदा शरीरले तापक्रमलाई सन्तुलित राख्न सक्दैन । निद्रा पूरा नभएका कारण शरीरमा उर्जा उत्पादन हुन पाउँदैन र अनावश्यक रुपमा धेरै जाडो लाग्छ । अत्यधिक चिसो महसुस भएका निद्रा पुर्याउन आवश्यक हुन्छ ।
तौल घटेको कारण : शरीरले आन्तरिक तापक्रम कायम राख्न फ्याटको प्रयोग गर्छ । फ्याटको कमीका कारण शरीरले आफ्नो आवश्यकताको हिसाबबाट तापक्रम उत्पादन गर्न नसक्ने हुँदा धेरै जाडो हुन्छ । हालसालै तौल घटाएका, दुब्ला मानिसले धेरै चिसो महसुस गर्ने हुन्छन् । सबैसँग यस्तो हुन्छ भन्ने पनि हुँदैन । कम क्यालोरीयुक्त भोजन सेवन गरिरहेका, मेटाबोलिजम ढिलो भएमा शरीरलाई तापक्रमको नियन्त्रण गर्न गाह्रो हुन्छ ।
रेयनडको रोग : तापक्रम घट्नासाथ रक्तनलीहरू साँघुरो हुने यो एक दुर्लभ रोग हो । यसले शरीरलाई चिसो महसुस गराउँछ । कहिलेकाहीँ व्यक्तिको खुट्टा तथा हातमा रगतको सञ्चालन नहुँदा हातखुट्टा नीलो वा चाल नपाउने भएर जान्छन् । मौसमका कारण मात्र नभएर तनावले पनि यस समस्यालाई सुरु गराउन सक्छ । रेयनड रोगलाई प्रायः जीवनशैलीमा परिवर्तन गरेर उपचार गरिन्छ ।