Rumpum Advertisement

नेपाली सिनेमा घरहरु पुस १० गतेबाट खुल्ने

Neuro
नेपाली सिनेमा घरहरु पुस १० गतेबाट खुल्ने

विराटनगर/कोरोना कहरका कारण आठ महिनासम्म बन्द भएका नेपालका सिनेमा हलहरु अब खुल्ने भएका छन् । गत वर्षको चैत ११ गतेबाट बन्द रहेका सिनेमा हलहरु आउँदो पुस १० गतेबाट खुल्ने भएको हो ।

सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लर जस्ता सबैजसो क्षेत्र स्वास्थ मापदण्ड अपनाएर खोल्न अनुमति दिए पनि सिनेमा हल भने खोल्न दिइएको थिएन । सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन, यसका बाबजुद हल सञ्चालकहरु यो चुतौतीलाई स्वीकार्दै सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन् । तर, सरकार पक्ष भने अझै तयार नभएपछि चलचित्र विकास बोर्डसँगै फिल्मसम्बद्ध विभिन्न सङ्घ–संस्थाहरु विरोधमा उत्रिनु बाध्य हुँदै गएको बताएका थिए । केही दिनअगाडि छवटा संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए आन्दोलनमा उत्रनेसम्मको चेतावनी दिएका थिए ।

हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमा हल खोल्नेसम्बन्धी विज्ञप्ति जारी गरेका छन् । जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म सरकारले चलचित्र घर सञ्चालन गर्नतर्फ कुनै चासो नदिएकाले सङ्घले बाध्य भएर पुस १० गतेदेखि सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लूएचओको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने तथा चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आगामी १५ दिनसम्म संक्रमणको अवस्था हेरेर आवश्यकताअनुसार सिनेमा हल तथा अन्य बन्द रहेका व्यावसायहरु सञ्चालनमा ल्याइने बताएका थिए ।