Rumpum Advertisement

आशावादी कोइम्यान : भने– बार्सिलोनाले अझै पनि ला लिगाको उपाधि जित्न सक्छ

आशावादी कोइम्यान : भने– बार्सिलोनाले अझै पनि ला लिगाको उपाधि जित्न सक्छ

विराटनगर/ ला लिगाअन्तर्गत लेभान्टेमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यान आशावादी देखिएका छन् ।

आइतबार राति क्याप नोउमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७६औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए ।

जितसँगै उसले शीर्ष स्थानको रियल सोसिडाडसँगको दूरी नौ अङ्कमा झारेको छ ।

‘पक्कै पनि हामी ला लिगाको उपाधि जित्न सक्छौं’, खेलपछि पत्रकारसँग बोल्दै कोइम्यानले भने, ‘यदि, हामीले आफूमा सुधार गरेमा हामीमा झन् आत्मविश्वास बढ्छ र यसको प्रभाव गोलमा हुनसक्छ । यसमा अझै पनि सम्भावना छ । अझै पनि थुप्रै खेलहरू बाँकी छन् ।’

यसैगरी कोइम्यान मेस्सीको प्रदर्शनबाट सन्तुष्ट देखिए । ‘मेस्सीले लेभान्टेविरुद्ध राम्रो खेले । तपाईंले याद गर्नुभयो होला उनीहरूले मेस्सीलाई सहज बनाएका थिएनन् । तर, उनले धेरै खेलाडीलाई छक्याए र आफ्नो क्षमता देखाए’, उनले भने ।