Rumpum Advertisement

बार्सिलोनामा मेस्सीको तलब अस्थिर

बार्सिलोनामा मेस्सीको तलब अस्थिर

विराटनगर/बार्सिलोनाको अध्यक्ष पदका प्रत्यासी इमिली रौसाउदले क्लबमा लियोनल मेस्सीको तलब अस्थिर भएको बताएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा रौसाउदले मेस्सीको तलब घटबढ भइरहेको बताएका हुन् ।

आगामी २४ जनवरीमा बार्सिलोनामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । अक्टोबरमा जोसेप मारिया बार्टोमेउले राजीनामा दिएपछि रौसाउदले सो पदका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

‘हामी मेस्सीसँग तलब कटौतीका लागि छलफल गर्नेछौं । अहिले उनको तलब अस्थिर छ । हामी उनलाई केही त्याग गर्न भन्नेछौं । उनीसँग सम्झौता नभएको खण्डमा मेस्सीले बार्सिलोना छोड्ने निश्चित छ’, उनले भने ।

‘मेस्सीले क्लबको इतिहासमा धेरै उत्कृष्ट पानाहरू कोरेका छन् । हामीले हाम्रा लिजेन्डहरूलाई सम्मान गर्नुपर्छ । तर, वास्तविक अवस्था भने यस्तो छ । हामीले हाम्रा सदस्यहरूलाई मूर्ख बनाउन सक्दैनौं । उनलाई बार्सिलोनामै राख्नका लागि हामी जे पनि गर्नसक्छौं,’ उनले थपे ।

३३ वर्षीय मेस्सीले ला लिगामा ४४९ गोल गरेका छन् । अब उनी ला लिगामा ४५० गोल गर्दै युरोपियन शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने दौडमा छन् ।