Rumpum Advertisement

कोरोनामुक्त भएकाहरूमा ‘पोस्ट–कोभिड’ समस्या

Neuro
कोरोनामुक्त भएकाहरूमा ‘पोस्ट–कोभिड’ समस्या

अंकिता ताम्रकार

विराटनगर/विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसियू विभागकी नर्स अन्जना उप्रेती ३० असोजमा सङ्क्रमणबाट मुक्त भइन् ।

ज्वरो, शरीरमा अत्यधिक दुखाइ, टाउको दुखाइ, थकान, झाडापखाला, घाँटीको दुखाइ, कमजोरीका साथ कोरोनाले गम्भीर बनाएका कारण रेम्डेसिभिरसमेत प्रयोग गरेकी उनी सङ्क्रमणमुक्त भएर सामान्य जीवनशैलीमा फर्किएकी छिन् । तर उनी पूर्णरुपमा निको हुन सकेकी छैनन् ।

कोभिडसँगको लडाइँ जितेको दुई महिना बितिसक्दा पनि नियमितरुपमा शरीर कमजोर भएको, थकित हुने उनले बताइन् ।

१२ दिनमै सङ्क्रमणबाट मुक्त भएर ११ कात्तिकमा प्रेमलक्ष्मी बानिया आचार्य अस्पतालको आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएकी थिइन् ।

कोभिडसँगको लडाइँ जितेको एक महिनाभन्दा धेरै भइसक्दा पनि पहिलेकोजस्तो स्वस्थ हुन नसकेको उनको भनाइ छ । उनलाई थकान, छाति दुखाइ, पेटको दुखाइ, झाडापखाला, रुघाखोकी तथा ज्वरोसहितका लक्षण देखिएको थियो ।

उनलाई अहिले पनि जिउ गल्ने शरीरमा उर्जा नभएको महसुस हुन्छ ।

कोसी अस्पताल विराटनगरको स्त्री तथा प्रसूति विभागकी नर्स बिन्दु भट्टराई १७ दिनमा निको भए पनि अझै पूर्णरुपले स्वस्थ्य हुन सकेकी छैनन् । ज्वरो, रुघाखोकी, सास फेर्न गाह्रो हुने, नाक र घाँटी टालिएजस्तो हुने, गन्ध र स्वाद हराउने लक्षण हराएको धेरै दिन बित्दा पनि अहिलेसम्म उनको गन्ध थाहा पाउने क्षमता पनि पूर्णरुपमा फर्किसकेको छैन ।

कोभिडको सङ्क्रमणमुक्त भएर पनि समस्या भोगिरहेकामध्येमा यी केवल प्रतिनिधिपात्र हुन् ।

कोभिडको रिपोर्ट नेगेटिभ आएर पनि धेरै समय बितिसक्दा पनि थकान, कमजोरी, सास फेर्न गाह्रो हुने र पहिलाजस्तो सामान्य जीवनशैलीमा फर्कन नसक्ने गुनासो गर्नेहरू धेरैको सङ्ख्यामा छन् ।

कोभिडको सङ्क्रमणमुक्त भएर पनि केही बिरामीमा पोस्ट कोभिडका विभिन्न समस्याहरू देखिरहेको चिकित्सकहरू बताउँछन् ।

विराट मेडिकल कलेज र शिक्षण अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन तथा पल्मोनोलोजिस्ट डा. पुरु कोइरालाका अनुसार कोभिड सङ्क्रमण निको भएपछिको अवस्थालाई एक्युट पोस्ट कोभिड सिन्ड्रम भनिन्छ । खासगरी कोभिड १९ सङ्क्रमण हुँदा निमोनिया भएर निको भएकामा यस्तो समस्या देखिने हुन्छ ।

भाइरल सङ्क्रमण कडाखालको भएकाले गर्दा, सिस्टम्याटिक इन्फ्लामेटरी रेस्पोन्स (शरीरमा भएको बाहिरी स्रोतलाई हटाउन प्रतिरक्षा प्रतिक्रिया)ले गर्दा शरीरको सबै अङ्गहरूमा असर पर्न जाँदा पोस्ट कोभिड सिन्ड्रम हुन्छ ।

छिटो थकान लाग्ने, हिँडडुुल गर्दा सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ हुने, सुख्खा खोकी लाग्ने कोभिड निको भएपछि देखिने केही सामान्य लक्षणहरू हुन् ।

यो समस्या धेरैमा तीनदेखि छ महिनासम्म पनि रहन सक्छ । सामान्य मात्र समस्या हो भने यसका लागि खासै कुनै उपचार चाहिँदैन । बाफ लिने, स्वासप्रसवाससम्बन्धीको व्यायाम र खानपानमा ध्यान दिएमा समस्या बिस्तारै समाधान हुँदै जान्छ । गाह्रो भएमा श्वासप्रश्वाससम्बन्धीको व्यायाम, इनहेलर तथा औषधिलगायतका उपचार चाहिन सक्छ ।

त्यस्तै, पोस्ट कोभिडको समस्या देखिएकामा धेरैजसो छातिकै सङ्क्रमण देखिरहेको कोसी अस्पतालका सिनियर फिजिसियन डा. दीपक सिग्देल बताउँछन् । कोभिड अस्पतालमा उपचार गराइरहेका केही बिरामीको रिपोर्ट नेगेटिभ आए पनि नन–कोभिड अस्पतालमा आइसियूमा भर्ना गरेर उपचार आवश्यक परिरहेको उनको भनाइ छ ।

जिउ दुख्ने, थकान, मांशपेशीको दुखाइ (मायलजिया)को समस्या पनि धेरैलाई भएको देखिन्छ । तर, यो समस्या कोभिडमा मात्र नभएर जुनसुकै भाइरल सङ्क्रमणमा पनि देखा पर्ने हुन्छ । पोस्ट–कोभिडमा मुख्या देखिने समस्या भनेको मायलजिया, भर्‍याङ चढ्दा थाकेकोजस्तो हुने, केही काम गर्दा वा हिँड्दा स्याँस्याँ हुने जस्तो हुन्छ । फोक्सोको क्षमता कम भएको कारणले यी समस्या देखिएको हो । यो समस्या चारदेखि छ हप्तासम्म रहन सक्छ । तर, सिटी स्क्यान गरेर हेर्दा लङ फाइब्रोसिस (फोक्सोमा क्षति भएर घाउ वा दाग) पछिसम्म पनि रहेको देखिन सक्छ ।

कोरोना जाँच रिपोर्ट नेगेटिभ आए पनि अन्य सङ्क्रमणका कारण फोक्सोमा अत्यधिक क्षति भएर मृत्यु हुने सम्भावना पनि रहन्छ । कोभिडको सङ्क्रमणले फोक्सोमा क्षति पुर्‍याएर फोक्सो बिगार्ने भएर फोक्सोको क्षमता घटेर जान्छ । जसकारण छातिमा विभिन्न प्रकारको सङ्क्रमण हुने सम्भावना बढेर जान्छ ।

कोभिडपछि हुने अन्य सङ्क्रमणमा धेरै देखिने भनेको छातिको सङ्क्रमण हुने, श्वासप्रश्वासमा समस्या वा श्वास प्रणालीसम्बन्धी समस्या नै हुन् । र, हाल जाडोको समय पनि भएको हुनाले अन्य भाइरल सङ्क्रमण हुने सम्भावना पनि बढेर गएको उनको भनाइ छ । साथै, कोभिडको पुनः सङ्क्रमण (रि–इन्फेक्सन) हुने सम्भावना पनि रहन्छ ।

सामान्य समस्या देखिए यसलाई खासै उपाचरको आवश्यकता नहुन सक्छ । तर, यसलाई सुरुकै अवस्थामा पहिचान गरेर श्वासप्रश्वासको व्यायाम, छातिसम्बन्धी फिजियोथेरापी गर्न सल्लाह दिने गरेको उनी बताउँछन् । यो सँगसँगै अन्य सङ्क्रमण देखिएमा एन्टिबायोटिक दिएर उपचार गर्नु नै आवश्यक हुन्छ ।

कोभिडको रिपोर्ट नेगेटिभ भए पनि रोगले छोड्ने वा बिरामी पूर्णरुपमा निको नभइसकेको हुने हुँदा बाफ लिने, श्वासप्रश्वासको व्यायाम गर्नु पर्ने हुन्छ ।