Rumpum Advertisement

जीवनको अन्तिम डोरी चुँडाउन उद्दत बजारको भिड

जीवनको अन्तिम डोरी चुँडाउन उद्दत बजारको भिड

यज्ञ अधिकारी

विराटनगर/सङ्कटको अवस्थामा प्रत्येक सेकेन्डको महत्व हुन्छ । जीवन–मृत्युको दोसाँधमा रहेको अवस्थामा उपचार पाउने समय लम्बिँदाको पीडा शब्दमा व्यक्त गर्न मुस्किल पर्छ ।

जीवनको माया सबैलाई उत्तिकै हुन्छ । एक्कासी गम्भीर अवस्थामा परेका बिरामीलाई चाँडो अस्पताल पु¥याउन एम्बुलेन्सको सहारा लिइन्छ । तर मृत्युसँग लडाइँ गरिरहेको जीवन बोकेर हुइँकिएको एम्बुलेन्सलाई अवरोध गर्न सडकको खाल्डो र बजारको भिड उद्दत छ । जसको परिणाम अस्पताल पुग्न केही मिनेट ढिलो हुँदा मृत्युले जितिदिन्छ ।

बिरामीको अवस्थाअनुसार सडकमा तीव्रगतिमा एम्बुलेस चलाउन सम्भव नभएको चालकहरु बताउँछन् । सडकको अवस्था र भिडभाडका कारण बिरामीलाई चाँडो अस्पताल पुर्‍याउन नसकिने उनीहरुको गुनासो छ ।

विराटनगरमा पनि एउटा अस्पतालबाट अर्को अस्पताल बिरामी लैजान सिटी रिक्सा, टेम्पोका करण कठिन हुने गरेको एम्बुलेन्स चालक आनन्द विक बताउँछन् । निर्माणाधीन सडकका खाल्डोले पनि समस्या निम्त्याउने उनले बताए । ‘जति साइरन बजाए पनि कसैले बाटो छोड्दैन,’ उनले भने, ‘एक नम्बरमा चाहिँ सिटी रिक्सा र अटोको लापरवाहपूर्ण हकाइले समस्या पार्ने गरेको छ ।’

ठूला मानिसको अवागमनको समयमा पनि एम्बुलेन्सको साइरनलाई बेवास्ता हुने गरेको उनले बताए ।

एम्बुलेन्स चालक आनन्द विक

बिरामी बोकेर साइरन बजाएर आएको एम्बुलेन्सलाई ढिलै भए पनि मानिसले बाटो दिन्छ तर सडकको खाल्डोले त किन दिन्थ्यो ! एम्बुलेन्सलाई समयमा नै अस्पताल पुग्न सडकका खाल्डाखुल्डी पनि बाधक हुन् ।

बिरामी बोकेको समयमा गाडी चाँडो कुदाउनु पर्ने भए पनि खाल्डाखुल्डीले निकै अप्ठ्यारो बनाउने एम्बुलेन्स चालक पर्वत राई बताउँछन् ।

‘गाह्रोखालको बिरामी हुँदा स्पिड कुदाउनु पर्छ । त्यस्तो बेला खाल्डोबाट जोगिन मुस्किल पर्छ,’ उनले भने, ‘स्पिडमा गाडी खाल्डोमा पर्दा गाडीमा क्षति पुग्छ । दुर्घटनाको जोखिम पनि हुन्छ ।’ सडकमा भएका खाल्डाले बिरामीलाई समयमा अस्पतालमा पुर्‍याउन कठिन मात्र नभएर आफ्नै ज्यानलाई समेत खतरामा पार्ने उनले बताए ।

सडकको ब्रेकर र खाल्डाले बिरामी ल्याउन लैजान समस्या हुने गरेको एम्बुलेन्स चालक आनन्द विक बताउँछन् । सडकको खाल्डाका कारण समयमा बिरामीलाई अस्पताल पुर्‍याउन कठिन रहेको उनले बताए ।

एम्बुलेन्स चालक पर्वत राई

सडकको कारण बिस्तारै एम्बुलेन्स कुदाउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । रङ्गेली–विराटनगर, दुहवी–इनरुवा सडकमा बिरामीलाई लिएर हिँड्नै मुस्किल पर्ने उनीहरुको गुनासो छ । ‘दुहवी–इनरुवा सडक हेर्दा पिच जस्तो देखिन्छ तर ‘जर्किन’ले बिरामी लिएर हिँड्नै सकिँदैन,’ उनले भने, ‘विराटनगरबाट दुहवी पुग्न १५ मिन लाग्छ तर दुहवीबाट इनरुवा पुग्न ठ्याक्कै एक घण्टा ।’

बिरामीलाई समयमा अस्पताल पुर्‍याउन उद्दत रहे पनि अव्यवस्थित सडकका कारण मुस्किल पर्ने गरेको कोसी एम्बुलेन्स चालक सङ्घ मोरङका अध्यक्ष अशोक यादवले बताए ।