birat ribon

हुस्सु र कुहिरोसँगै बढ्यो चिसो, जनजीवन प्रभावित

Neuro
हुस्सु र कुहिरोसँगै बढ्यो चिसो, जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु र कुहिरोसँगै बढेको अत्याधिक चिसोका कारण प्रदेश १ को राजधानी विराटनगरलगायत तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

मंसिर अन्तिम हुँदै गएपछि बाक्लो हुस्सु लाग्न थालेको हो । बाक्लो हुस्सु लाग्न थालेपछि सडकमा हिँडडुल गर्न र सवारी साधन सञ्चालनमासमेत अप्ठेरो पर्न थालेको छ । हुस्सुले नजिकै रहेको कुनै पनि कुरा देख्नसक्ने अवस्था छैन । हुस्सुका कारण भिजिविलिटी कम हुँदा सवारी साधन सञ्चालनमा निक्कै समस्या भएको हो ।

cura insider

चिसो बढेसँगै सार्वजनिक स्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या सामान्य अवस्थाकोभन्दा कम छ । आर्थिक अवस्था कमजोर भएका र वासस्थानको उचित व्यवस्था नभएकाहरुले चिसोमा कठ्याङ्ग्रिएर समय विताउनुपर्ने अवस्था छ । गरिबीमाथि चिसोको पीडा थपिँदा र न्यानो लुगा तथा सुरक्षित वासस्थानको अभावमा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी पीडित बनिरहेका छन् ।

कतिपय ठाउँमा चिसोबाट बच्नका लागि सर्वसाधारण एकै ठाउँमा भेला भई आगो बालेर ताप्न थालेका छन् । कुनै काम विशेषले बाहिर निस्कनु पर्दा चिसोबाट बच्न सर्वसाधारण बाक्लो लुगा लगाउन थालेका छन् । केही दिनदेखि घाम देख्न पाइएको छैन । हुस्सु र कुहिरोका कारण घाम नलाग्दा दैनिक तापक्रममा गिरावट आइरहेको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरले बाक्लो हुस्सु र कुहिरो लागिरहने अवस्था केही समयसम्म कायम रहनसक्ने जनाएको छ । मौसममा आएको परिवर्तनसँगै तापक्रममा नियमित गिरावट आउँदा चिसो बढेर गएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख विकास देउजाले यस्तो अवस्थामा चिसोबाट बच्ने उपायको खोजी उत्तम विकल्प हुने बताए ।

‘हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेकोले तराईमा जनजिवन कष्टकर बन्दै गएको छ, ’ उनले भने, ‘बच्नका लागि उचित उपायको खोजी गरिए मात्रै चिसोका कारण कुनै क्षति हुन पाउँदैन ।’ कार्यालय प्रमुख देउजाका अनुसार सोमबार बिहान विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ । यो सामान्य अवस्थाकोभन्दा निक्कै कम हो । आइतबार न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम २०.३ डिग्री रहेको थियो ।

देउजाले विगत वर्षमाभन्दा यसवर्ष अलि चाँडो चिसो सुरु भएको जानकारी दिए । पहिलेपहिले पुसबाट सुरु हुने यसखाले चिसो यस वर्ष मंसिर अन्तिमबाटै सुरु भएको उनको भनाइ छ । पश्चिमी वायुको प्रभावका कारण हुस्सु र कुहिरोसँगै ह्वात्तै चिसो बढेको बताउँदै देउजाले यो अवस्था केही समयसम्म कायम रहनेसक्ने उल्लेख गरे ।

मौसममा आएको खरावीका कारण विराटनगर विमानस्थलमासमेत जहाज अवतरण र उडानमा समस्या भइरहेको छ । हुस्सुका कारण भिटिभिलिटी कम हुँदा जहाज उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए । उनका अनुसार मौसमा फेरबदल हुँदा उडानमा समस्या हुनु स्वभाविक हो ।

‘चार÷पाँच दिनदेखि ढिलो हुने र रद्ध गर्नुपर्ने समस्या कारण उडान प्रभावित बनिरहेको छ,’ खरेलले भने, ‘प्रत्येक दिन बिहान ८ बजेबाट सुचारु हुने विमानस्थल अहिले मुस्किलले ११ बजे पनि सञ्चालनमा आउनसक्ने अवस्था छैन ।’ उनका अनुसार मौसम प्रतिकूलतका कारण आइतबार दिउँसो २ बजेबाट मात्रै उडान सुचारु हुनसक्यो ।

उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् । खरेलले मौसम परिवर्तनसँगै उडान सुचारु हुननसक्दा यात्रुले समयमै गन्तव्यमा पुग्न नपाउने गरेको र कतिपय उडान रद्ध हुँदा यात्रु गन्तव्यमा जान नपाइकन फर्कनुपर्ने अवस्था रहेको सुनाए ।

उडानमा ढिलाई भएकै कारण कोरोनाको जोखिम पनि बढेको उनको भनाइ छ । उडान ढिलो हुँदा विमानस्थलमा यात्रुको भीडभाड अत्याधिक हुने गरेका कारण कोरोना फैलने जोखिम बढेको उनले बताए । ‘एयरलाइन्सहरुले समयमै यात्रु बोलाएका हुन्छन् । बोलाएको समयमा यात्रु विमानस्थल आइपुग्छन्,’ उनले भने, ‘तर उडान ढिलो हुँदा विमानस्थल छाडेर जानसक्ने अवस्थामा पनि रहँदैन । त्यही भएर ठूलो भीडभाड हुँदा कोरोनाको जोखिम छ ।’

विमानस्थल प्रमुख खरेलले मौसमका कारण यात्रुहरुको चाप र उडानको समय व्यवस्थापन गर्न निक्कै मुस्किल परिरहेको सुनाए । जहाजलाई कम्तीमा पनि एक हजार छ सय मिटर भिजिविलिटी आवश्यक पर्ने उनको भनाइ छ । त्यही भएर बाक्लो हुस्सु नहटेसम्म उडानको सम्भावना नरहने उनले बताए । खरेलका अनुसार कहिले काहीँ घाम लागे पनि तुवाँलोका कारण भिजिविलिटी कम हुँदासमेत उडान प्रभावित हुने गरेको छ ।

jackson ribon