Rumpum Advertisement

जाडोमा स्वस्थ रहनका लागि आवश्यक केही टिप्स

जाडोमा स्वस्थ रहनका लागि आवश्यक केही टिप्स

विराटनगर/ जाडोको मौसममा सबैभन्दा धेरै रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा तथा पहिलाबाटै स्वास्थ्य समस्या भएकालाई धेरै सताउने हुन्छ । जाडोको समयमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, ज्वरो तथा निमोनिया जस्ता समस्या देखापर्ने हुन्छ ।

कोसी अस्पतालका फिजिसियन डा. राम शाहका अनुसार यी समस्याका साथै जाडोको समयमा लापरवाही गर्ने तथा पहिलादेखि स्वास्थ्यमा समस्या भएका व्यक्तिलाई चिसो मौसमले निकै सताउने गर्छ ।

वायु प्रदुषण, मदिरा तथा धुम्रपान, पुरानो दम, इन्फ्लुएन्जा, तथा संक्रमणका कारण खासगरी जाडोमा दम, आस्थमा र अन्य समस्या बल्झिन सक्छन्  । चिसोले गर्दा नसा खुम्चिने हुँदा हृदयाघात, जोर्नी दुख्ने तथा बाथरोगले पनि सताउन सक्छ ।

त्यसैले पहिलाबाट स्वास्थ्यमा समस्या भएका व्यक्तिले स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने उनले सुझाव दिएका छन् । सबैभन्दा पहिले चिसो लाग्नबाट बच्नका लागि न्यानो लुगा लगाएर न्यानो भएर बस्नुपर्ने हुन्छ ।

भाइरल सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा छिट्टै सर्न सक्ने हुँदा सङ्क्रमण भएका व्यक्तिबाट टाढै बस्नुपर्छ  । व्ययामका साथै शारीरिक गतिविधि गरी शरीरलाई सक्दो सक्रिय राख्नुपर्छ । जाडोको समयमा तातो तथा झोलिलो खानाको सेवनमा अधिक जोड दिनुपर्छ । चिसो कुरालाई सक्दो टाढा राख्नुपर्छ ।

मौसमी सागसब्जी, कागती, सुन्तलालगायतका भिटामिन सीयुक्त फलफूलको बढी सेवन गर्नुपर्छ  । स्वास्थ्यमा समस्या देखिएमा परामर्शविनाको औषधिको सेवन गर्नु हुँदैन । मदिरा, धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन त्याग्ने गर्नुपर्छ ।

विभिन्न स्वास्थ्यमा समस्या भएका रोगीले चिसोबाट बच्न नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गर्ने, चिसोमा धुलो, धुवाँवाट बच्ने गरेमा केही हदसम्म जोखिमबाट बच्न सकिन्छ ।

जाडो मौसममा हुनसक्ने भाइरल सङ्क्रमणको जोखिमबाट बच्न फ्लुबिरुद्धको खोप लगाउन सकिन्छ ।