Rumpum Advertisement

अठ्तिस तोला सुनको भागबन्डा गर्दैगर्दा पाँचजना पक्राउ

Neuro
अठ्तिस तोला सुनको भागबन्डा गर्दैगर्दा पाँचजना पक्राउ

काठमाडौं/ ३८ तोला सुनसहित पाँचजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङलाई पक्राउ गरेको हो ।

शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ आएका थिए ।

काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

भागबन्डा गर्दैगर्दा उनीहरूलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । आजै उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए । रासस