Rumpum Advertisement

छालालाई सुख्खा हुन नदिनेबाहेक भ्यासलिनका छन् अनेकौँ फाइदा

छालालाई सुख्खा हुन नदिनेबाहेक भ्यासलिनका छन् अनेकौँ फाइदा

विराटनगर / जाडोको समयमा छाला सुख्खा भएर फुस्रो हुने, हातखुट्टा तथा ओठ फुट्ने समस्या देखा पर्छ । छालालाई फुट्नबाट बचाउनका लागि जाडोको समयमा विभिन्न प्रकारका क्रिमको प्रयोग गरिन्छ ।

अधिकांश मानिसहरूले जाडोमा भ्यासलिनको प्रयोग गर्ने गर्छन् । भ्यासलिनले छाला फुस्रो भएको, छाला फुट्नबाट बचाउनुका साथै अन्य धेरै फाइदाहरू पुर्‍याउने गर्छ । भ्यासलिन एक पेट्रोलियम जेली हो र यसले पुर्‍याउने फाइदा यस्तो मुख्य तत्व पेट्रोलियमबाट आउँछ ।

पेट्रोलियमले छालालाई पानीबाट सुरक्षा प्रदान गर्न एक लेयर थपिदिने काम गर्छ । जसले छालालाई निको पार्न र मोइश्चर कायम गर्न मद्दत गर्छ । सुक्खा, फुस्रो छालामा भ्यासलिन प्रयोग गर्नाले छाला नरम र चिल्लो हुन्छ ।

ओठ फुट्ने व्यक्तिले भ्यासलिनको प्रयोग गरेमा ओठ फुट्ने समस्या हट्नुका साथै ओठ कालो हुने समस्या पनि हराएर जान्छ । कुर्कुच्चा फुट्ने समस्या भएका व्यक्तिले हरेक राति सुत्ने बेलामा आफ्नो खुट्टालाई सफा गरी धुएर भ्यासलिन लगाउनाले कुर्कुच्चा फुट्ने समस्या केही दिनमै निको हुन्छ ।

खाना पकाएको समयमा वा आगोमा गरिने अन्य काममा हात तथा शरीरमा सामान्य पोलेमा तथा सानो चोटपटक लागेमा भ्यासलिनको प्रयोगले जलन कम गरेर निको पार्छ ।

बच्चामा डाइपरका कारण छालामा हुने र्‍यासलाई पनि भ्यासलिनले निको पार्न सक्छ । आँखाको मेकअप हटाउनका लागि पनि भ्यासलिनको प्रयोग गर्न सकिन्छ ।

राति सुत्नुअगाडि आँखीभौं र परेलामा भ्यासलिन लगाएर सुतेमा यसले आँखीभौं र परेलालाई पनि बाक्लो बनाउन मद्दत गर्छ । कपालमा कलर र नङ पालिस लगाउनुअघि भ्यासलिनको प्रयोगले कपाल तथा नङमा रङ्गको दागहरू पर्नबाट जोगाउँछ ।

कपालमा हाँगा फाट्ने समस्या भएमा भ्यासलिनको प्रयोगले केही हदसम्म कपालमा आएको हाँगालाई हटाउन सक्छ । साथै, कपाललाई नरम र सिल्की पनि बनाउने गर्छ । पर्फ्युम लगाउन अघि पर्फ्युम लगाउने ठाउँमा भ्यासलिन लगाउनाले पर्फ्युम लामो समयसम्म टिक्ने हुन्छ । भ्यासलिनलाई मानिसमा मात्र नभएर जनावरमा पनि प्रयोग गर्न सकिन्छ ।

घर पालुवा जनावरमा हातखुट्टा फुट्ने समस्या भएमा पनि पेट्रोलियम जेलीको प्रयोग गर्न सकिन्छ । पेट्रोलियम जेलीका धेरै फाइदाहरू छन्, तर, यो छालाको बाहिरी तहमा मात्र प्रयोग गर्नुपर्छ । यसलाई सेवन गर्नु हुँदैन साथै पेट्रोलियम जेलीलाई शरीरका कुनै पनि भित्री अङ्गमा प्रयोग गर्नु हुँदैन ।