काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौेंले थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । मुद्दा दर्ता भएको १० महिनापछि बस्न्यात बयानका लागि आफैँ अदालतमा उपस्थित भएका थिए ।
बस्न्यातले आफ्नोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठलागयतका कानून व्यवसायीहरूलाई लगाएका थिए । विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको बताए ।
तत्काल प्राप्त प्रमाणबाट बस्न्यात आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताए ।
तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले उनीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबीसमेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेकोमध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्रीसमेत रहेका छन् ।