Rumpum Advertisement

कोरोनाभन्दा पितृ–उद्धार प्राथमिकतामा

कोरोनाभन्दा पितृ–उद्धार प्राथमिकतामा

सुनसरी / यो वर्ष हुन्छ–हुँदैन, लाग्छ–लाग्दैन, मिल्छ–मिल्दैन आदि–इत्यादि अलमलबीच पूर्वको प्रसिद्ध तीर्थ–स्थल रामधुनी मन्दिर परिसरमा आइतबार दिनभरि बाला चतुर्दशीको मेलाको घुइँचो भइरह्यो ।

श्रद्धालुहरूले पितृ उद्धारको कामनासहित शनिबार राति अखण्ड–दीप प्रज्ज्वलन गरेका थिए भने आइतबार मन्दिर परिसर तथा जङ्गल सेरोफेरोमा सद्बिउ अर्थात् शतबीज छरेका थिए ।

बोलीचालीमा सद्बिउ भनिने शतबीजमा धान, जौ, गहुँ, मकै, तिल, चना, मटर, विभिन्न फलफूल गरी सय किसिमका बिउ भन्ने बुझिन्छ । बाला चतुर्दशी पनि भनिने मङ्सिर कृष्ण चतुर्दशी तिथिका दिन दिवङ्गत पितृको मोक्ष र उद्धारका लागि देशभरका देवालयहरूमा सद्बिउ छर्ने सनातनी प्रचलन छ ।

‘यसपटक कोरोना त्रासका कारण रामधुनीमा मेला लाग्छ–लाग्दैन, मान्छे आउँछन्–आउँदैनन् भन्ने थियो,’ स्थानीय शिक्षक विनोद डाँगी भन्छन्, ‘तर गत वर्षभन्दा कम मान्छे आएनन् । बिहान त ठिकठिकै थिए तर कुहिरो हट्दै जाँदा अचाक्ली मान्छेहरू थपिए ।’

रामधुनीमा सद्बिउ छर्न आएका काठमाडौँ, जनकपुरदेखि काँकडभिट्टासम्मका मान्छेहरू भेटिएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए । ‘चोरी–चकारी तथा दुर्घटनाका कुनै घटना नभई बाला चतुर्दशी मेला सम्पन्न भयो,’ अध्यक्ष कार्कीले भने, ‘सुन्दा अपत्यारिलो लागे पनि मान्छेले कोरोनालाई भन्दा पितृ–उद्धारलाई प्राथमिकता दिएको पाइयो ।’

समितिका अनुसार यस वर्ष मन्दिर व्यवस्थापनका लागि श्रद्धालुहरूबाट सङ्कलन हुने सहयोगसहित व्यापारीबाट उठ्ने कर रकम भने कम भएको छ । समितिका नाममा अघिल्ला वर्षहरूमा चार लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन हुन्थ्यो तर दुई लाख १२ हजार रुपैयाँमात्र भयो ।

‘कोरोना तथा लामो समयको लकडाउनका कारण खस्केको जनताको आर्थिक अवस्थालाई ध्यानमा राखी यसपटक हामीले पैसा उठाउने कुरामा धेरै बल गरेनौँ,’ अध्यक्ष कार्कीले भने, ‘आर्थिक कुरामा जो हात सो साथ भन्ने नीति लियौँ । प्रतिकूल परिस्थितिमा पनि सोचेभन्दा बढी श्रद्धालुहरू रामधुनी सम्झेर आइदिनुभयो, त्यसैमा खुसी छौँ ।’