विराटनगर/ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि ६० लाख नेपालीलाई पुग्नेगरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले जनसंख्याको २० प्रतिशत अर्थात् करीब ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।
यद्यपि, यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
हाल विश्वभर ५८ वटा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ ।
अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ ।
नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरूले गरेका छन् । यद्यपि, सो विषयमा औपचारिक निर्णय भएको छैन ।