Rumpum Advertisement

कैदीलाई घरबाट खर्च पठाउन बाध्य छन् आफन्त

कैदीलाई घरबाट खर्च पठाउन बाध्य छन् आफन्त

मोहन ढकाल

विराटनगर / मोरङ कर्सियाका समशेर महम्मदका आफन्त आठ महिनादेखि विराटनगरको हाटखोला कारागारमा छन् । उनले आफन्तको दैनिक खर्चका लागि प्रत्येक हप्ता चार हजार रुपैयाँ कारागारमा बुझाउने गरेका छन् ।

दैनिक ज्याला मजदुरीको काम गरेर परिवार चलाउँदै आएका उनले हप्तामा चार हजार कारागारमा बुझाउन् पर्दा आफ्नो भने घर–व्यवहार चलाउनै समस्या पर्ने गरेको बताए । ‘ऋण कर्जा जे गरेर भए पनि कारागारमा बुझाउनु नै पर्छ,’ उनले भने, ‘उहाँले फोन गरेर जसरी भए पनि यत्ति खर्च उपलब्ध गराउन भन्नुहुन्छ अनि लगेर बुझाउँछु ।’

महम्मदले आफूले हप्तावारी बुझाएको रकम सम्बन्धित मान्छेको हातमा पर्छ वा पर्दैन भन्नेबारे आफूलाई थाहा नभएको बताए । ‘खर्च उपलब्ध नभए भोकै बस्नुपर्छ भन्नुहुन्छ,’ उनले भने, ‘जसरी भए पनि उपलब्ध गराउनैपर्छ ।’ दुई महिनाअघि कारागारमा रहेका आफन्तलाई निमोनिया भएपछि ४० हजार खर्च भएको उल्लेख गर्दै उनले यसरी हप्तैपिच्छे चार हजार बुझाउनुपर्दा किस्ता तिर्न समेत समस्या भएको गुनासो गरे ।

मोरङकै डाइनियाका सेवन्त शर्मा सवारी कसुरमा हाटखोला कारागारमा छन् । उनी डेढ महिनादेखि कारागारमा रहेका छन् । उनले पनि खाना र कपडाका लागि भनेर आफन्तसँग खर्च माग्ने गरेका छन् । उनका आफन्तले उनका लागि कारागारमा तीन हजार रुपैयाँ बुझाइसकेका छन् । उनलाई खर्च पु¥याउन आएका आफन्तले भने, ‘पैसा पठाउनु भनेर फोन आउँछ, भने जति दिन सकिँदैन । खान, लाउन समस्या हुन्छ भने पछि ल्याइदिनैपर्‍यो, दैनिक मजदुरी गर्नुपर्छ, कसरी पुर्‍याउनु ?’

सप्तरीका जितेन्द्र साहका आफन्त एक वर्षदेखि हाटखोला कारागारमा छन् । उनले पनि खाना, औषधि र कपडाका लागि भन्दै घरबाट खर्च माग्ने गरेका छन् । तर भने जति खर्च उपलब्ध गराउन सक्ने पारिवारिक अवस्था नरहेको जितेन्द्रले बताए । दैनिक ज्याला–मजदुरीको काम गरेर गुजारा चलाइरहेको सुनाउँदै उनले भने, ‘अहिलेसम्म १० हजारभन्दा बढी रुपैयाँ कारागारमा बुझाइसकेको छु । भित्रबाट फोन आउँछ, पैसा ल्याइदिनू नभए खान, लाउन नै समस्या पर्छ भन्छन् । धेरथोर जति भए पनि ल्याइदिनैपर्छ ।’

महम्मद, शर्मा र साहमात्र होइन, प्रायः कैदीका आफन्त सबैले कारागारमा रहेका आफ्ना मान्छेका लागि घरबाटै खर्च धानिरहेका छन् । खाना, लत्ताकपडा, औषधिलगायतमा समस्या पर्ने भएकाले कैदीले खर्च माग्ने गरेको आफन्तको भनाइ छ ।

कारागार कार्यालय मोरङका अनुसार कैदीले दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल पाउँछन् । दसैँ खर्चबापत तीन सय रुपैयाँ पाउने गरेका छन् । प्रत्येक कैदीले कपडा खर्चबापत जाडोमा एक हजार पाँच सय २५ र गर्मीमा एक हजार चार सय रुपैयाँ तथा दुई–दुई वर्षमा सिरक–डसना पाउने गरेको कारागार कार्यालय मोरङका निमित्त कार्यालय प्रमुख रामप्रसाद पोखरेलले बताए ।

कैदीहरूलाई भन्दै आफन्तले पैसा बुझाउनुपर्ने बाध्यताबारे जिज्ञासा राख्दा पोखरेलले भने, ‘कारागार प्रशासनले कैदीका आफन्तसँग पैसा माग्ने गरेको छैन । हुनेखाने परिवारले आफन्तलाई सजिलो होस् भनेर आफैँ ल्याइदिने गरेका छन् ।’

कैदीका आफन्तका अनुसार जेलभित्र पाइने दैनिक उपभोगका सामानमा यति महँगो दाम लगाइन्छ कि जेल प्रशासनले उपलब्ध गराउने खर्चले त्यसलाई धान्न सक्दैन । दैनिक जीवन निर्वाहका लागि पैसा नपठाइहुन्न ।