Rumpum Advertisement

अर्थरको तुलना : मेस्सीभन्दा रोनाल्डो पहुँचयोग्य खेलाडी

अर्थरको तुलना : मेस्सीभन्दा रोनाल्डो पहुँचयोग्य खेलाडी

विराटनगर/ हालैमात्र बार्सिलोनाबाट युभेन्टस गएका ब्राजिलियन मिडफिल्डर अर्थर मेलोले लियोनल मेस्सीभन्दा क्रिस्टियानो रोनाल्डो पहुँचयोग्य खेलाडी भएको बताएका छन् ।

स्पेनिस मिडिया ‘एएस’सँगको अन्तर्वार्ताको क्रममा मेलोले रोनाल्डोसँग सहजै कुरा गर्न सकिने बताउँदै उनी मेस्सीको तुलनामा पहुँचयोग्य खेलाडी भएको बताएका हुन् ।

साउथ अमेरिकन स्टार अर्थर यसै समर ट्रान्सफरमा क्याप नोउबाट टुरिन गएका हुन् । उनले सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसबाट १२ खेल खेलेका छन् । त्यसअघि बार्सिलोनाकाे जर्सीमा उनले ७२ खेलमा ४ गोल गरेका थिए ।

अन्तर्वार्तामा अर्थरले मेस्सी र रोनाल्डो दुवै प्रतिभावान खेलाडी भएको उल्लेख गरे । ‘उनीहरू सबै कुराका च्याम्पियन हुन् । यसमा मेस्सी र रोनाल्डो समान छन्, सुरुदेखि अन्त्यसम्म समान । यदि, उनीहरूले तीन गोल गरे भने तत्काल चौथो गोलका बारेमा सोच्छन् । दुवै जनाले अरूलाई प्रोत्साहन गर्छन् र तपाईंलाई उत्कृष्ट बन्न सहयोग गर्छन्’, उनले भने ।

यसैगरी अर्थरले मेस्सी र रोनाल्डोको तुलना गर्दै पाँच पटकका बालोन डी‘ओर रोनाल्डो धेरै कुरा गर्ने र पहुँचयोग्य खेलाडी भएको बताए ।

‘दुवैको तुलना गर्नुपर्दा मेस्सीभन्दा रोनाल्डो पहुँचयोग्य खेलाडी हुन्, किनकि उनी हामीसँग धेरै कुरा गर्न मन पराउँछन् । टिममेटका बारेमा कुरा काट्दैनन् बरु प्रेरणा दिन्छन्’, उनले थपे ।

‘उनी जनवारजस्तै प्रशिक्षण गर्छन्, उनी आफैंलाई थाहा छैन कि विश्राम भनेको के हो र उनी सधैं उत्कृष्टताका लागि प्रोत्साहन गर्छन् । उनी कुनै पनि मौका छोड्दैनन् । एकाबिहानै प्रशिक्षणस्थलमा देखिनु उनको विशेषता हो । मानसिक रूपमा पनि उनी बलिया छन्,’ उनले भने ।