birat ribon

बढ्दो शैक्षिक कुहिरोमा कोरोना अलमल

Neuro
बढ्दो शैक्षिक कुहिरोमा कोरोना अलमल
पेशल आचार्य

संसारमा यतिखेर हरेक चिजको वैश्वीकरण भइरहेको छ । भनिन्छ, प्रतिदिन गुगल, विकिपेडिया, इन्टाग्राम, इन्टरनेट र विश्वका कुना–कुनामा रहेका अनेक अनलाइनहरूमार्फत् १० करोडभन्दा बढी पृष्ठमा ज्ञान र विज्ञानका समाचारहरू मानिसले मानिसका लागि पस्किने काम गरिरहेका छन् ।

यस्तो लाग्छ कि हामी बाँचेको विश्वको यो पलमा गुगल माध्यमबाट जेजति सूचना र ज्ञान हामीमाझ आइरहेका छन् तिनीहरूको सङ्गतले मानिस प्रत्यक्षरूपमा शिक्षित, सिपालु, बौद्धिक र दह्रो हुँदै गएको होला तर अर्कातिरबाट यसले मानिसलाई एकलकाँटे, मनोरोगी, विद्रोही र एकान्तप्रेमी पनि बनाउँदै लगिरहेको देखिन्छ । के यी यावत् सुख र सुविधाहरू मानव स्वास्थ्यका लागि लाभदायक छन् त ? अहिले यी र यस्ता प्रश्नहरू विभिन्न कोणहरूबाट उठिरहेका छन् ।

cura insider

शासन शैली, राजनीति, विज्ञान प्रविधि, आविष्कार, कला र रोग आदिहरू जानीनजानी विश्वव्यापी बन्ने क्रममा एउटा सामान्य मानिस नै विश्वका आममानिसको शत्रु/मित्रु दुवै एकैपटक भइदिएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको बुहानबाट फैलिएको भनिएको कोभिड–१९ को विश्वव्यापी महामारीपछि विश्वमा एक प्रकारको आतङ्क फैलियो । रोगप्रति यति धेरै डर मानिसमा योभन्दा अघि सायदै थियो । हुन त विश्वले यसअघि पनि धेरैथरी महामारीहरू झेल्दै आएकै हो । महामारीको यो शृङ्खलामा स्पेसिन फ्लु, प्लेग, हैजा, इबोला, स्वाइन फ्लु र बर्ड फ्लु हुँदैहुँदै कोरोनासम्मका नामहरू हामीले पत्रिपत्रिका, पुस्तक र अनलाइनहरूमा पढ्न पाएका छौं ।

साँच्चै भन्ने हो भने अहिलेको मानिस विश्वमानव हो । उसले गरेको कुनै पनि सुकर्म/कुकर्म एकै मिनेटमा विश्वभर फैलन या छरिन कुनै निहुँ नै चाहिँदैन । विश्वमा भए गरेका अचम्मका काम र घटना विशेषहरू हरदिन भाइरल भएका समाचारहरू हामीसामु आइरहेकै छन् । ती भाइरल बनेका जेजति समाचार र घटनाहरू हामीसामु आउँछन् तिनीहरूमा पोजेटिभभन्दा नेगेटिभ घटनाहरू नै बढी आइरहेका हुन्छन् ।

हत्या, हिंसा, बलात्कार, अपहरण, गुन्डागर्दी र भ्रष्टाचारका समाचारहरू सुन्दा/पढ्दा हाम्रा आँखा, कान र विवेक नै बोधा भइसकेका छन् । छनोटको सुविधा छ अहिले । कसैले कसैलाई प्रेस गर्नै पर्दैन । आफैँमा सक्षम र पूर्णरूपको प्रविधि चलाउन जान्ने पोख्त भइसकेका मानिसहरूले आफ्नै बुद्धि, विवेक र सीपलाई गुरु मान्दा हुन्छ । गुरुहरू यो बेला फिका हुँदै जाँदै छन्, बदलामा गुगल गुरुहरूको क्रेज बढ्दो छ । पुस्तकहरूमा धमिरा लागिरहेको देखिन्छ प्रत्युत्तरमा सामाजिक सञ्जालमा मानिसले बढी विश्वास गर्न थालेको भान हुन्छ । ज्ञानलाई विज्ञानले सर्लक्कै जित्यो । त्यसैले अहिले मानिस आफ्नो तोरीबारी छिर्न छाडेर अर्काको खरबारी चहार्न बढी रौसिएको छ ।

यस्तो लाग्छ कि हामी बाँचेको विश्वको यो पलमा गुगल माध्यमबाट जेजति सूचना र ज्ञान हामीमाझ आइरहेका छन् तिनीहरूको सङ्गतले मानिस प्रत्यक्षरूपमा शिक्षित, सिपालु, बौद्धिक र दह्रो हुँदै गएको होला तर अर्कातिरबाट यसले मानिसलाई एकलकाँटे, मनोरोगी, विद्रोही र एकान्तप्रेमी पनि बनाउँदै लगिरहेको देखिन्छ ।

कोरोना भाइरसको अति प्रकोपपछि विश्वका धनी–गरिब सबैखाले मुलुकमा गुगल मिट, जुम, भेस्पा र मुडलजस्ता प्रविधि प्रयोग गरेर मानिसहरूले तालिम, गोष्ठी, कार्यशाला, विद्यालय र विश्व विद्यालयहरूकै कक्षाहरू समेत चलाए । यसअघि कहिल्यै नसुनेका सिकाइ व्यवस्थापन पद्दति (एलएमएस) को प्रयोग गरेर मानिसले सामाजिक र भौतिक रूपका दुरी बढाएरै सैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिनेदिने कामसमेत गरेका देखिए । अहिलेसम्म पनि विश्वमा ठूलासाना सम्मेलनहरू, अनेक प्रकारका गोष्ठीहरू र कक्षाहरू त्यसैगरी चलिरहेका छन् ।

हाम्रो देशको अवस्था भने विश्वका विकसित देशभन्दा अलि फरक देखियो । यहाँ कोरोना कहरमा समेत यसको प्रतिकारका लागि राष्ट्रिय रूपमा एकढिक्का भएर देशले कोराना न्यूनीकरण गर्ने रणनीति बनाउन, स्वास्थ्य सामग्री झिकाउन, रोगको जाँच गर्न र सोको भ्याक्सिनका सन्दर्भमा काम गर्न नसकेकै हो । सबै चिजहरूमा राजनीतिको मुख हेर्ने हाम्रो देशमा अझ यो बेलामा राजनीतिकै टायरको हावा खुस्कियो । साराका सारा शक्तिको उपल्लो तहमा हुने शासकहरू यतिबेलै नमज्जाले गनाए । खासगरी विश्वविद्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिक्ने सिकाउने संस्थाहरूका मानिसहरूको हुती, बर्कत र ल्याकत सबै कोरोनाले सर्लक्कै देखाइदियो । हामी को कति पानीमा रहेका रहेछौं भन्ने कुरा यहाँ कसैले कसैलाई ढाँटिरहनु नै परेन ।

दुई जना कोरानाका रोगी हुँदा हामीले गत सालको एसइई परीक्षा रोक्यौं । सरकारले चाहेको भए कक्षा ११ र १२ को वार्षिक परीक्षा लिन सक्थ्यो । विश्व विद्यालयका परीक्षाहरू दिनसमेत विद्यार्थीहरू परीक्षा तयारी गरेर परीक्षा दिने मानसिकतामा रहेका थिए ।

नेपालका सबै विश्व विद्यालयहरूले आआफ्ना ब्याचलर र मास्टर्स डिग्री लेभलका परीक्षाहरू डिस ब्रेक लगाएर रोकिएको सवारीझैँ अनायाशै रोके । फलतः गत २०७६ को एसइईलाई कोरोना ब्याच भनेर हियाउने गरियो । सरकारी निर्णयले विद्यालयहरूलाई आन्तरिक आधारमा मूल्याङ्कन गर्न दिइयो । बगरे शैलीका बोर्डिङ स्कुलले मौका यही हो भनेर कुस्त नम्बर हालिदिएर विद्यार्थी र तिनीहरूका अभिभावकलाई बेवकुफ र मुर्गा दुवै एकैचोटी बनाए । जहाँ उनीहरूको व्यापारको सवाल थियो ।

सरकारी स्कुलहरूले पनि कतै धान्न नसक्ने नम्बर दिए भने कतैकतै चाहिँ यही मौका हो भनेर शिक्षकले विद्यार्थीमाथि इबी साँधेर पाउनेभन्दा कम नम्बर दिँदा शिक्षकहरू नै पिटिएका समाचारहरू बाहिर आए । कोरानाले विश्वको सर्वशक्तिमान देश भनेर चिनिएको अमेरिकालाई पनि उसको मुखुण्डो खोलेर देखाइदियो ।

रकेटमा खर्च गर्ने, हतियारमा बेफिक्री पैसा उडाउन गाह्रो नमान्ने अमेरिकासँग समेत मास्क, सेनिटाइजर, थर्मल गन र पिसिआर मेसिनको कमी रहेछ भन्ने कुरा समाचारकै माध्यमबाट विश्वले थाहा पायो । चीन, जर्मन, फ्रान्स, रसिया र बेलायतजस्ता देशहरूले अरबौँ र खरबौँको स्वास्थ्य सामग्रीहरू उत्पादन गरेर मौकामा लौका मात्र टिपेनन चौका हान्ने काम तमाम गरे । यही मेसोमै गरिब देशहरूको हाल झन् खराब देखियो । मौकामा कात्रोमा गोजीसमेत हालेर भ्रष्टाचार गर्ने अवसर पाए । सत्ता र शक्तिको मदमा लाइन मन्त्रीहरूले अरबौँ-खरबौँ कमाए । कठै ! नेपालको बास्तविक हुती त विश्वले छ्याङ्ग देख्यो ।

विश्वका कतिपय मुलुकमा दोस्रो चरणको कोभिड फेरि फैलियो । भुटान, जापान, दक्षिण कोरिया र चिलीले विश्वमै पृथक तरिकाले कोरोनालाई न्यूनीकरण गर्ने शैली अख्तियार गरे । कतिपय देशमा यसको असर अत्यन्त न्यून भयो भने इटाली, फ्रान्स, अमेरिका, जर्मन, ब्राजिल र भारतजस्ता देशमा भने यसले धेरै जनको क्षति गर्‍यो । कोरोना महामारीमा असर नपर्ने देश र ती देशका कुनै क्षेत्रहरू सग्लो रहेनन् ।

शिक्षा, स्वास्थ्य, यातायात, होटल, पर्यटन उद्योग, सिनेमा उद्योग, निर्माण आयोजना, उद्योगधन्दा, आयातनिर्यात कम्पनी र सेवा उद्योग समेत धराशयी भए । सबैभन्दा धेरै गरिबहरू यो रोगबाट मारमा परेको देखियो । कृषि, पशुपालन र मजदुरी गर्नेहरूका दुर्दान्त कथाहरू पनि रेडियो, टेलिभिजन, युटुब, अनलाइन, पत्रपत्रिका र ब्लगहरूमा पढ्न, देख्न र सुन्न पाइयो ।

नेपालको शिक्षाको विकासमा कोराना महामारीको क्षति अपूरणीय रह्यो । शिक्षा क्षेत्रमा लागेका भुइँ मान्छेहरूदेखि शिक्षा मन्त्रालयको उपल्लो तहको जिम्मेवारी लिनेहरू यो महामारीलाई समयमै ट्याकल गर्नबाट चुके । फलतः नेपालका ७० लाख विद्यार्थीहरूको भविष्यलाई कोराना कहरले चौपट बनायो ।

सहर बजारमा पहुँच हुनेहरूले अनलाइन कक्षाका डङ्का पिटेर आफ्ना कर्मचारी, शिक्षक, प्रशिक्षक र प्राध्यापकहरूको रोजीरोटी बचाउने तरकिब निकाले । गाउँठाउँ र दूर दराजमा अनलाइन शिक्षाका नाममा अनेक प्रहसनहरू मञ्चित भएका समाचारहरू समेत आए । निख्रिएर भन्ने हो भने नेपाल अनलाइन शिक्षाका लागि पूर्ण तयारी त के सामान्य पूर्वाधारहरू पनि बनिसकेका रहेनछन् भन्ने कुरा प्रमाणित भयो ।

हामी अझै कोरोना कहरका निहुँमा मास्क संस्कृति र सेनिटाइजर फेसनमा कतिन्जेल रूमल्लिरहने ?

अहिले नेपालका केही सहरी क्षेत्रका विद्यालयभन्दा बाहेक गाउँ, अर्बान एरिया र देशैभरिका सानाठूला क्षेत्रका विद्यालयहरू पनि सिकाइ सहजीकरणका नाममा स्थानीय तहहरूले खुलाएको स्थिति छ । यतिखेर काठमाडौँ भ्यालीका केही स्कुलबाहेक नेपाल राज्यभरिकै विद्यालयहरू सिफ्टमा चलेका छन् । कक्षाको संख्या, समय र विषयसमेत घटाएर/छोट्याएर पढाइ भइरहेको स्थिति छ । यस्तो अवस्थामा विद्यालयहरूमा हात धुने प्रबन्ध, सेनिटाइजर, थर्मल गन र शिक्षक विद्यार्थीहरूलाई मास्क लगाएर पढाउने अनुमति प्राप्त छ । यस्तो बेलामा शिक्षक र विद्यार्थीहरू भौतिक दुरीलाई कायम राख्दै मुखमा मास्क लगाएर सिकाउने र सिक्ने काम गरिरहेका छन् ।

यहाँनेर एउटा प्रश्न उठाउन खोजिएको हो के सिक्ने र सिकाउने दुवैले मास्क लगाएर सिके–सिकाएको कुरालाई उनीहरूको मुखमा लगाएको मास्कले अवरोध गरेको छ कि छैन त ? छ भने हामीले गरेका यी दुसाध्य कार्यहरू सबै बलेँसीका पानीका फोका त भइरहेका छैनन् । मुखाकृतिको प्रतिक्रिया नदेखिँदा शिक्षक र विद्यार्थी दुवै कुहिरोका काग भएका त छैनन् ? अहिले शिक्षित अभिभावकहरू प्रश्न गर्न थालेका छन् ।

सिक्ने र सिकाउनेले एकर्काको मनोभावना नबुझिकन पढ्नु र पढाउनु परिरहेको छ । सिकाइ नितान्त मनोवैज्ञानिक प्रक्रिया हो । यस्तो अवस्थामा शिक्षकले उसको विद्यार्थीको प्रतिक्रिया कस्तो छ भनेर मास्क लगाएको मुखबाट कसरी थाहा पाउनु ? अनि विद्यार्थीले शिक्षकले के–कसरी पढाएको छ भनेर कसोगरी अनुमान गर्नु ?

फलतः अहिले सिक्ने र सिकाउनेका क्षेत्रमा बढो कठिन अवस्था सिर्जना भएको छ । यी र यस्ता प्रश्नहरूको उत्तर शिक्षामन्त्री, मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू, शिक्षाविद्, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, प्रअ र शिक्षक कसले जिम्मेवारीपूर्वक दिन सक्छन् । कृपया ससाना सिकारूहरूलाई चित्तबुझ्दो गरी उत्तर दिनुपर्ने देखिन्छ ।

नत्र कि मास्क खोलेर पढाउनु भन्नुपर्‍यो । कि त मास्क बाहिरबाट नपढाऊ भन्न सक्नुपर्‍यो । हामी अझै कोरोना कहरका निहुँमा मास्क संस्कृति र सेनिटाइजर फेसनमा कतिन्जेल रुमलिरहने ? सम्बन्धित क्षेत्रको शीघ्रातिशीघ्र ध्यान जानु अति जरूरी भइसकेको छ ।

jackson ribon