Rumpum Advertisement

चिनीको सेवन त्याग्नु स्वास्थ्यका लागि फाइदाजनक

Neuro
चिनीको सेवन त्याग्नु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर/स्वास्थ्यका लागि चिनीको सेवनलाई राम्रो मानिँदैन ।

चिनीको सेवनले तौल बढ्ने, कम्मरमा अत्यधिक बोसो थप्पिने, एक्नेको बढ्दो जोखिम, टाइप २ मधुमेह र हृदय रोग निम्त्याउन सक्छ । अत्यधिक चिनीको सेवनले शरीरमा क्यान्सर निम्त्याउने ट्युमर बढाउने कारण पनि बन्न सक्छ ।

चिनीको सेवन छोड्नु धेरै चुनौतीपूर्ण हुन्छ र यसका लागि कडा इच्छाशक्ति चाहिन्छ । तर, एक पटक चिनी वा गुलियो खाने लोभलाई हटाउन सके स्वास्थ्य र छाला बिस्तारै सुधार हुँदै जाने छ र केही दिनमै फरक देख्न सकिन्छ ।

रक्तप्रवाहमा चिनीको एक उच्च मात्राले छालाको कोलेजेनको मर्मतमा अवरोध पुर्‍याउन सक्छ ।

खानामा अत्यधिक चिनीको सेवनले छालाको लचिलोपनलाई पनि कम गर्न सक्छ जसकारण समयभन्दा पहिले नै छाला चाउरी पर्ने समस्या हुन जान्छ । अध्ययनहरूका अनुसार चिनीको सेवन कम गर्नाले छालालाई युवा अवस्थाको जस्तो देखाएर बुढेसकालको प्रक्रियालाई सुस्त बनाउन सक्छ ।

उच्च चिनीको सेवनलाई सामान्यतया तौलसँग जोडिने गरिन्छ । चिनी या गुलियो पदार्थको सेवनलाई नियन्त्रण गर्नाले शरीरको अत्यधिक बोसोलाई सजिलैसँग कम गर्न सकिन्छ । विशेषगरी पेट क्षेत्रमा जम्मा भएको बोसोलाई पनि घटाउन सकिन्छ । मध्य–भागमा अत्यधिक बोसो सङ्कलन भएका कारण मधुमेह, उच्च कोलेस्ट्रोल जस्तो विभिन्न स्वास्थ्य समस्याहरू निम्तिन्छ ।

चिनीको सेवन त्याग्नाले शरीरमा हुने ऊर्जा लामो समयसम्म रहने हुन्छ । चिनी साधारण कार्ब्स हो जसकारण यो छिटो पचेर रक्तप्रवाहमा प्रवेश गर्छन् । र, शरीरको ऊर्जामा तत्काल वृद्धि हुन्छ । तर, चिनी मेटाबोलाइज्ड भएपछि उर्जाको मात्रा खस्दै जान्छ । त्यसैले चिनीको सेवन त्याग्नाले यस समस्याको सामना गर्नु पर्दैन ।