Rumpum Advertisement

उखु किसान आन्दोलित

उखु किसान आन्दोलित

काठमाडौँ/उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् ।
चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौँ आएर आजदेखि आन्दोलन सुरु गरेका हुन् ।

पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनीसमेत किसानहरुले दिएका छन् । उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पूरै पैसा नपाउँदासम्म आन्दोलन नरोकिने बताए ।

संरक्षक मिश्रले तिहारअगाडि उद्योगमन्त्री लेखराज भट्टलाई भेट गरी स्मरणपत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरे पनि पैसा नआएकाले आफूहरु काठमाडौँ आएर आन्दोलन गर्न बाध्य भएको बताए ।

मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगीबीच मिलेमतो भएको हुनसक्ने आशङ्का पनि किसानहरुको छ ।

यसअघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौँ आएका थिए । किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगीबीच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यस पटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।