विराटनगर/बुढापाका मानिस तथा पहिलेदेखि नै केही स्वास्थ्य समस्या भएका मनिसलाई कोरोना भाइरसको जोखिम धेरै हुने भन्दै असुरक्षित मानिएको छ ।
कोभिडको सङ्क्रमणले बच्चाहरूमा कुनै गम्भीर जोखिम नगर्ने बताइए पनि आमाबाबु तथा परिवारका सदस्यले थप सावधानी अपनाउनु पर्ने देखिएको छ । न्यूयोर्क मेडिक्सका अनुसन्धानकर्ता टोलीको अनुसन्धानका अनुसार कोभिडले कम उमेरका जनसङ्ख्यामा मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम (एमआईएस(सी) नामक गम्भीर अवस्था निम्त्याउन सक्छ ।
बयस्क मानिसजस्तै बच्चाहरूमा पनि ज्वरो, नाकबाट पानी बगिरहने, थकान, गन्ध हराउने, घाँटीको दुखाइ, नाक बन्द हुने, छाती दुखाइ, सास फेर्न गाह्रो हुने र मांसपेशी वा शरीर दुखाइका लक्षण देखिन सक्छन् । तर, लक्षणहरूको नयाँ समूहले बच्चाहरूमा सम्भावित सबैभन्दा खराब तरिकाले प्रभाव पार्न सुरू गरेको छ ।
कोभिडबाट प्रभावित धेरैजसो बच्चाहरूमा मात्र हल्का लक्षणहरू देखापरेका छन् । तर, एमआईएस–सीको समस्या विकास गर्ने बच्चामा हृदय, फोक्सो, रक्तवाहिका, मृर्गौला, पाचनप्रणाली, मस्तिष्क, छाला वा आँखालगायत शरीरका विभिन्न अङ्गहरूमा गम्भीर सुन्निने समस्या देखा परिरहेको छ ।
मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम विकसित गरेको कोभिड सङ्क्रमित बच्चाले सामान्य लक्षणहरूबाहेक घाँटीका ग्रन्थीमा सुजन, सुख्खा, फुटेका ओठ, र्यास, हात तथा खुट्टाका औंला रातो हुने तथा आँखा सुन्निने समस्यालगायतका अन्य लक्षण देखाउन सक्छ । अनुसन्धानमा सहभागी ३५ बच्चाहरूमध्ये, २५ जनामा मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम भइसकेको देखिएको थियो ।
चिकित्सकका अनुसार सिन्ड्रोमले शरीरका कम्तिमा दुईवटा अङ्गमा प्रभाव पार्छ र यसको कुनै वैकल्पिक उपचार पनि छैन ।