Rumpum Advertisement

फुटबलको बन्द प्रशिक्षण सुरु

फुटबलको बन्द प्रशिक्षण सुरु

काठमाडौँ/राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।

विश्वकप फुटबल छनोटको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण सुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ । फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाकाको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरिएको बताए ।

पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । विश्वकप छनोटका लागि प्रयाप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

एसियन छनोटअन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् भने नेपाल तीन अङ्कसहित चौथो स्थानमा रहेको छ ।

कोभिड सङ्क्रमणको जोखिमका कारण खेलाडीहरु गत चैत महिनायता कुनै पनि प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । तर गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो ।