Rumpum Advertisement

नारायणकाजी प्रकरणमा पूर्वमन्त्री बास्कोटाको प्रतिक्रिया : ‘मेरोजति गरिदिएको भए हुन्थ्यो’

नारायणकाजी प्रकरणमा पूर्वमन्त्री बास्कोटाको प्रतिक्रिया : ‘मेरोजति गरिदिएको भए हुन्थ्यो’

विराटनगर/पूर्व सांसद कमानसिंह लामाको मृत्युपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लेनदेन विवादको मुद्दामा मुछिएका छन् । लामा परिवारको लेनदेन विवादमा मुछिएका श्रेष्ठको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

आदर्श नेताको छवि बनाएका प्रवक्ता श्रेष्ठ लेनदेनको विवादमा मुछिएपछि पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुल बास्कोटाले नैतिकता देखाउन आग्रह गरेका छन् ।

७० करोड कमिसन प्रकरणको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजिनामा दिएका बास्कोटाले आइतबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कम्तीमा आफूले गरेजति गरिदिएको भए राम्रो हुने बताए ।

आफ्नो प्रकरणको मुद्दा अदालतमा रहेकाले धेरै नबोल्ने बताउँदै उनले भने, ‘आदर्श नेताले मबाट सिक्ने के हुन्छ ? … कम्तीमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’

आरोप उठ्नासाथ आफू र पूर्व सभामुख कृष्णबहादुर महराले छानविनका लागि बाटो छोडिएको स्मरण गर्दै उनले थपे, ‘प्रश्न उठेपछि आफ्नो जुन मर्यादाजनक ठाउँ छ । छानविन गर्न कसैले खोज्यो भने, परीक्षण गर्न खोज्यो भने गर छानविन भनेर भन्नुपर्ने हो ।’

व्यक्ति हेरेर नियम नहुने बताउँदै उनले प्रवक्ता श्रेष्ठको केसमा आफ्नो कुनै प्रतिक्रिया नरहेको बताए । ‘जनताको आरोपहरु हेर्दैछु । मलाई मात्र होइन अरुलाई पनि आरोप लाग्दोरछ । यद्दपि म मेरो बारेमा म जवाफदेही छु,’ उनले भने, ‘मैले कसरी भन्नु पार्टीको त्यति ठूलो नेतालाई, उहाँले त हामीलाई पो डन्डा बजाउने हो त ।’