birat ribon

जिलेबियाका दुःख : घरबाट निकालिए, मागेर गुजारा

Neuro
जिलेबियाका दुःख : घरबाट निकालिए, मागेर गुजारा

मोहन ढकाल

विराटनगर/मोरङको कटहरी गाउँपालिका–१ का जिलेबिया मुखिया ७० वर्ष पुगे । तीन छोराका बुबा उनले हातखुट्टा चुलन्जेल रिक्सा चलाए । पाँच वर्ष भयो रिक्सा चलाउन छाडेको । काम गर्न सकुन्जेलसम्म उनी परिवारका प्यारो थिए । तर नसक्ने भएपछि निकालिदिए । परिवारले घरबाट निकालिदिएपछि सार्वजनिक स्थानमा बस्न थालेको पनि तीन वर्ष पुग्नै लाग्यो । मुखियाको घर मोरङको कटहरी गाउँपालिका–१ को सुकुम्वासी बस्तीमा छ । जुन बस्ती टाइगर टोलको नामले पनि परिचित छ ।

cura insider
जिलेबिया मुखिया र प्रदीप साह

रिक्सा चलाउँदासम्म परिवारमा राम्रै मेलमिलाप भएको उनले बताए । तर रोगी भएछि उनी विस्तारै तिरस्कृत हुँदै गए । ‘काम गर्न नसक्ने अवस्थामा पुगेपछि घरबाटै निकालिदिए,’ उनले भने, ‘घरमा श्रीमती, छोराबुहारी र नातिनी छन् । म बाहिरै बस्छु ।’ उनका तीमध्ये दुई छोरा रोगी छन् । बिरामी पर्दा छिमेकीले सहयोग गरे पनि घरबाट चासो नदेखाएको उनले बताए ।

जिलेबिया मुखिया गाउँकै भत्किएर अरुले छाडेको घरमा रात कटाउँछन् । चिसो भुइँमा पातलो तन्ना र परालको भरमा जाडोसँग जुधिरहेका छन् । के खाने भन्ने चिन्ताले सधैं सताउँछ । कहिले एक मुठी चिउराको भरमा भोक मेटाउने मुखिया कहिले भोकै रात कटाउँछन् । कहिलेकाहीँ मागेर भोक मेटाउँछन् ।

जिलेबिया मुखिया

दुई महिनाअगाडि मुखिया बिरामी परे । तर घरपरिवारकाले चासो दिएनन् । वरिपरिका छिमेकीले उपचार गराएको स्थानीय विजय माझीले बताए । जाडोको समयमा न्यानो कपडाको अभावमा कष्टकर जीवन गुजारा गरिरहेको देखे पनि आफूहरुले चाहेर पनि केही गर्न नसकेको उनले बताए ।

प्रदीप साहको पीडा पनि उस्तै छ । युवा अवस्थाका उनी पनि परिवारकै कारण सडकमा आइपुगेका छन् । दैनिक ज्याला मजदुरीको काम गर्ने उनी श्रीमतीसँगै टाइगर टोलमा बस्थे । तर बस्तीमा दुःखले बनाएको घर पनि श्रीमती र ससुरालीले कब्जा गरेको उनले सुनाए ।

प्रदीप साह

श्रीमतीले दोस्रो विवाह गरेपछि आफूलाई घरबाट निकालेको उनले बताए । दुई छोरी र एक छोरा पनि आमासँगै छन् । घरबाट निकालिएपछि बाहिरै बस्न थालेको एक वर्ष भएको उनले बताए ।

साह पनि मुखियासँगै चिसो भुइँमा रात कटाइरहेका छन् । दैनिक मजदुरीको काम गर्ने साह कहिलेकाहीँ काममा जान्छन् । तर कोरोना महामारीका कारण काम पाउनै मुस्किल पर्ने गरेको उनले बताए । ‘कहिलेकाहीँ काम हुन्छ, त्यसैले जसोतसो खान पुग्छ,’ उनले भने, ‘काम चलेको भए यस्तो दुःख पाउने थिइनँ ।’

jackson ribon